कुन गृहमन्त्रीको पालामा कति भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गए (तथ्याङ्कसहित)

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिकहरूको तेस्रो मुलुक गमनको विषयमा विभिन्न गृहमन्त्रीहरूको कार्यकालगत तुलनात्मक तथ्याङ्क सार्वजनिक भएको छ। अध्यागमन विभागका स्रोतबाट प्राप्त तथ्याङ्कअनुसार यो प्रक्रिया विगत लामो समयदेखि निरन्तर चलिरहेको देखिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको दुई छोटो गृहमन्त्री कार्यकालमा कुल आठ हजार २७९ जना भारतीय नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुकको यात्रा गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ।

अध्यागमन विभागका स्रोतबाट प्राप्त विस्तृत तथ्याङ्कअनुसार रविको पहिलो गृहमन्त्री कार्यकालमा चार महिनाको अवधिमा सात हजार ४० जना भारतीय नागरिकले त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गमन गरेको देखिएको छ। यो अवधिमा दैनिक औसतमा ५८ जना भारतीय नागरिकले विमानस्थलबाट तेस्रो मुलुकको यात्रा गरेको स्रोतले जनाएको छ।

त्यसपछि दोस्रो पटक उपप्रधानमन्त्री सहित गृहमन्त्रीको जिम्मेवारीमा रहेका रविको एक महिना दुई दिनको छोटो कार्यकालमा एक हजार २३९ जना भारतीय नागरिकले तेस्रो मुलुक गमन गरेको तथ्याङ्कले देखाएको छ। यो अवधिमा दैनिक औसतमा ३८ जना भारतीयले विमानस्थलबाट बाहिरिएको अध्यागमन स्रोतको भनाइ छ।

अध्यागमन विभागका स्रोतका अनुसार रविको कार्यकालमा सबैभन्दा बढी भारतीयहरू नो अब्जेक्सन लेटर एनओसी विना नै तेस्रो मुलुक गएका थिए। यो तथ्यले रविको पालामा भारतीय नागरिकहरूको तेस्रो मुलुक गमनको प्रक्रियामा केही सहजीकरण भएको संकेत गर्छ।

रविको दुवै कार्यकालमा भारतीय नागरिकहरूले मुख्यतया कतार, कुवेत, दुबई, हङकङ, मलेसिया, चीन, थाइल्यान्ड र श्रीलंका लगायतका मुलुकहरूको यात्रा गरेको अध्यागमन विभागको तथ्याङ्कले देखाएको छ। यी मध्ये खाडी मुलुकहरू र दक्षिणपूर्वी एसियाली मुलुकहरूमा बढी संख्यामा भारतीयहरू गएको पाइएको छ।

वर्तमानमा सहकारी प्रकरणमा रवि कारागार चलान भएको विषयको प्रतिशोधस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरुद्ध गरिरहेको छ। यस्तो राजनीतिक तनावको बीचमा रविको गृहमन्त्री कार्यकालको यो तथ्याङ्क सार्वजनिक भएको हो।

अध्यागमन विभागका स्रोतले जनाएअनुसार रविको कार्यकाल भन्दा अगाडिका अन्य गृहमन्त्रीहरूको पालामा पनि यस्तै प्रकारको भारतीय नागरिकहरूको आवतजावत भइरहेको थियो। नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको एक वर्ष पाँच महिना १३ दिनको गृहमन्त्री कार्यकालमा सर्वाधिक २४ हजार ६२१ जना भारतीयले त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गमन गरेको थियो।

त्यसैगरी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको एक वर्ष तीन दिनको गृहमन्त्री कार्यकालमा १४ हजार ७४ जना भारतीयले तेस्रो मुलुक यात्रा गरेको थियो। श्रेष्ठको पालामा दैनिक औसतमा ३८ जना भारतीय नागरिक विदेशिएको स्रोतको भनाइ छ। यो दैनिक औसत रविको दोस्रो कार्यकालको दैनिक औसतसँग बराबर रहेको देखिन्छ।

सबैभन्दा लामो समय तीन वर्ष चार महिना १६ दिन गृहमन्त्रीको जिम्मेवारीमा रहेका रामबहादुर थापा बादलको पालामा १५ हजार ३२ जना भारतीयले त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक गमन गरेको छ। थापाको कार्यकालमा दैनिक औसतमा १२ जना भारतीयले विमानस्थलबाट बाहिरिएको तथ्य खुलेको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तीन महिनाको गृहमन्त्री कार्यकालमा ८२ जना भारतीय नागरिकले तेस्रो मुलुक गमन गरेको देखिएको छ। प्रचण्डको पालामा दैनिक औसतमा एक जना भारतीय नागरिक यहाँबाट तेस्रो मुलुक पलायन भएको देखिएको छ।
यी तथ्याङ्कहरूलाई तुलना गर्दा रविको पहिलो कार्यकालमा दैनिक ५८ जनाको औसत सबैभन्दा बढी देखिएको छ। यसपछि खाणको ४७ जनाको दैनिक औसत र रवि तथा श्रेष्ठको ३८ जनाको दैनिक औसत रहेको छ।

भारतीय दूतावास र अध्यागमन विभागका स्रोतअनुसार कुनैपनि भारतीय नागरिकले नेपालको विमानस्थल प्रयोग गरी तेस्रो मुलुक भ्रमण गर्न जाँदा भारतीय दूतावासबाट जारी नो अब्जेक्सन लेटर एनओसी देखाउनुपर्ने भन्ने कुनै अनुरोध नगरिएको समेत पाइएको छ। तर विमानस्थलबाट भारतीय दूतावासका कर्मचारीलाई सोधेर तेस्रो मुलुकको अनुमति दिने प्रचलन विगतदेखि नै रहेको अध्यागमन विभाग स्रोतले जनाएको छ।

पछिल्लो समय भिजिट भिसाबाट विदेशिने क्रमको विषयमा राजनीतिक वृत्तमा चर्चा परिचर्चाले प्राथमिकतामा पाएको छ। केही समयअघि वर्तमान गृहमन्त्री रमेश लेखकको पालामा मात्रै भिजिट भिसा प्रकरण भएको भन्दै उनलाई दोषी करार गरी राजनीतिक प्रतिशोध साध्ने प्रयास भएको थियो। तर तथ्यप्रमाणले विगत लामो समयदेखि भिजिट भिसामा जाने गरेको तथ्याङ्क सहित सार्वजनिक हुँदै गएपछि प्रतिशोधको योजना तुहिएको छ।

अहिलेको परिवेशमा मात्रै भारतीय नागरिकहरू यहाँबाट तेस्रो मुलुक गएको भन्ने भाष्य तयार गर्न केही समूह नै सक्रिय भएर लागेपनि उनीहरू विगतदेखि नै यहाँबाट जाने गरेको फेरिस्त लामो रहेको अध्यागमन स्रोतले जनाएको छ।

अध्यागमन विभागका उच्च स्रोतले भने,तथ्याङ्कमा देखिएका भारतीय नागरिकहरू यहाँबाट तेस्रो मुलुक मात्र जान्छन् भन्ने होइन। अधिकांश भारतीय नागरिकहरू यहीँबाट आवतजावत गर्ने गरेको तथ्याङ्कबाट पुष्टि हुन्छ।

स्रोतका अनुसार विकसित घटनाक्रम हेर्दा भिजिट भिसा र भारतीय नागरिकले त्रिभुवन विमानस्थल हुँदै तेस्रो मुलुक आउजाउ गर्न थालेको दशकौंदेखिको निरन्तरता हो। तर नियोजित रूपमा अहिलेको सरकारलाई बदनाम गराउने नियतले प्रचारबाजी र नकारात्मक धारणाको विकास गर्ने विषय बनाइएको भन्दै सचेत हुन जरुरी रहेको स्रोतले बताएको छ।

अहिले २०६४ सालयताकै पालादेखिको भिजिट भिसाको प्रकरणबारे अनुसन्धान गर्नुपर्ने विषयमा बहस चलिरहेको अवस्थामा यी तथ्याङ्कहरूले भारतीय नागरिकहरूको नेपाली रूट प्रयोग गरेर तेस्रो मुलुक गमनको विषयलाई नयाँ आयाम दिने देखिएको छ। 

विस्तृत तथ्याङ्क 

रविको पहिलो कार्यकाल-४ महिनामा ७,०४० जना (दैनिक ५८ जना)
रविको दोस्रो कार्यकाल- १ महिना २ दिनमा १,२३९ जना (दैनिक ३८ जना)
कुल संख्या- ८,२७९ जना

अन्य गृहमन्त्रीहरूसँग तुलनास्

खाण- २४,६२१ जना (दैनिक ४७ जना)
श्रेष्ठ-१४,०७४ जना (दैनिक ३८ जना)
थापा- १५,०३२ जना (दैनिक १२ जना)
प्रचण्ड- ८२ जना (दैनिक १ जना)