गाउँमा कोही बस्न तयार छैनन्: सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँहरू रित्तिँदै गएको बताएका छन्। सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले गाउँमा बस्न कोही तयार नरहेको र अधिकांश मानिस तराई झरेको उल्लेख गरे।
पहाडमा आवश्यक सुविधा उपलब्ध गराउन सके मानिसहरू त्यहाँ बस्न रुचाउने उनको भनाइ छ। देउवाले नेपालको सबै क्षेत्रको समान विकासका लागि योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने बताए।
उनले जलवायु परिवर्तनले नेपालमा गम्भीर असर पारिरहेको बताउँदै हिमालको हिउँ पग्लने र हिमाल खाली हुँदै गएको उल्लेख गरे। यसले भविष्यमा नेपाललाई ठुलो क्षति पुग्ने उनको चेतावनी छ। देउवाले नेपाल जलवायु परिवर्तनबाट अति प्रभावित मुलुक भएको र जङ्गल जोगाउँदा पनि यसको असर कम गर्न नसकिएको बताए।
