अहिले आएको बजेट मलाई पनि चित्त बुझेको छैन: सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा सत्तासाझेदार दलका नेता शेरबहादुर देउवाले आर्थिक वर्ष २०८१/०८२ को बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौंमा आयोजित पार्टीको आपूर्ति तथा उपभोक्ता विभागद्वारा आयोजित बजेटसम्बन्धी छलफलमा उनले बजेटले आफू र पार्टीलाई सन्तुष्ट पार्न नसकेको बताए।

बजेट हामीलाई चित्त बुझेको छैन, पार्टी पनि सन्तुष्ट छैन,देउवाले भने, तर परिस्थितिलाई हेर्दा योभन्दा राम्रो बजेट सम्भव थिएन । तसर्थ, यसलाई स्वीकार गर्नुपर्छ भन्ने मेरो मान्यता छ।

उनले नेपालको आयात भारतमा अत्यधिक निर्भर रहेको उल्लेख गर्दै सरकारको भूमिकामाथि पनि टिप्पणी गरे। सरकारले व्यापार वा उद्योग सञ्चालन गर्ने होइन । उद्योगपति र व्यापारीले उद्योग खोल्ने र व्यापार गर्ने हो । सरकारको काम उनीहरूलाई सहजीकरण गर्नु हो । नेपाली कांग्रेसले यो कार्यमा सधैँ सहयोग गर्नेछ, उनले भने । देउवाले उद्योगी र व्यापारीलाई आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको समेत दोहोर्‍याए।