आरिफको अर्धशतकको मद्दतमा नेदरल्याण्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य

काडठमाडौं। आईसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार भइरहेको खेलमा नेपालले नेदरल्याण्ड्सलाई जितका लागि २३७ रनको चुनौती दिएको छ।

आरिफ शेखले ८५ बलमा ८४ रन बनाएपछि कुनै बेला संकटग्रस्त नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३६ रन बनाउन सफल भएको हो।

स्कटल्याण्डको डण्डीमा नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।

नेपालका आरिफले अर्धशतकीय इनिङ खेले। ८५ बलमा ७ चौका र २ छक्कासहित उनले सर्वाधिक ८४ रनको योगदान गरे । आरिफको यो ओडिआई करियरको सर्वाधिक रन हो । आरिफले गत साता नेदरल्याण्ड्ससँगको खेलमा पनि अर्धशतक प्रहार गरेका थिए । आरिफले त्यो खेलमा ७८ रन बनाएका थिए ।

भीम सार्कीले ३८ बलमा ३ चौकाको सहयोगमा ३५ रन बनाए । तेस्रो विकेटका लागि भीम र कप्तान रोहितकुमार पौडेलले ७९ बलमा ५९ रन जोडे । कप्तान रोहित र भीम माइकल लेभिटको बलमा आउट भए ।

उपकप्तान दीपेन्द्रसिंह ऐरी २४ बलमा १ चौकाको सहयोगमा १६ रनमा आउट भए । सिरिजको अन्तिम खेलमा मौका पाएका बसिर अहमदले २५ बलमा ११ रन जोडे । करण केसी १९ बलमा १ चौकाको सहयोगमा ११ रनमा आउट भए । नन्दन यादब १० रनमा अविजित रहे ।

नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई १८ रनमा गुमाएको थियो । कुशलले १९ बलमा २ चौका प्रहार गरे । दोस्रो विकेटका रुपमा १६ बल सामना गरेका अनिल साह २ रनमा आउट भए । नेपालका दुवै ओपनरलाई पल भान मेकरेनले आउट गराए ।

नेदरल्याण्ड्सले १० रन पेनाल्टी स्वरुप पायो । दोस्रो इनिङको सुरुवातमा नेदरल्याण्ड्सले कुनै बलको सामना नगरी १० रन पाउने छ । नेदरल्याण्ड्सका लागि पल भानले ४, लेभिटले ३ तथा आर्यन दत्तले १ विकेट लिए ।

नेपालले घरेलु टोली स्कटल्याण्डसँग आइतबार खेलेको टोलीबाट ३ परिवर्तन भएको छ । आसिफ शेख, गुल्शन झा र सोमपाल कामीको स्थानमा नन्दन यादव, बसिर अहमद र अनिल शाहले मौका पाएका छन् ।

नन्दनको ओडिआई यो डेब्यु खेल हो । गत महिना मात्र नन्दनले टि ट्वान्टी आईमा डेब्यु गरेका थिए । नन्दन नेपालका लागि ओडिआई खेल्ने ४२औं खेलाडी हुन् ।बसिरले पनि लामो समय पछि ओडिआई टोलीमा पुनरागमन गरेका हुन् ।