त्रिकोणात्मक टी-२० सिरिज: नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिज हिजोबाट सुरु भएको हो।
पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डले नेदरल्याण्डलाई ३९ रनले हराएको छ। नेपालको भने यो पहिलो खेल हो। खेल नेपाली समय अनुसार साँझ पौने ८ बजे स्कटल्याण्डको डन्डीमा शुरू हुनेछ।
हालै सम्पन्न आईसीसी विश्वकप लिग -२ अन्तर्गतको सफल भ्रमणपछि नेपाली राष्ट्रिय क्रिकेट टोली अब टी-२० त्रिकोणात्मक सिरिजमा उत्रिन लागेको छ।
लिग -२ अन्तर्गत नेपालले स्कटल्याण्डमा खेलेका चार एकदिवसीय खेलमध्ये तीनमा शानदार जित निकालेको थियो। तीमध्ये नेदरल्याण्ड्सविरुद्ध दुई तथा स्कटल्याण्डविरुद्ध एक जित हासिल गर्दै नेपाल आत्मविश्वासका साथ टी-२० फर्म्याटमा फर्किएको हो। पछिल्लो दुई खेलमा नेदरल्याण्ड्सलाई ५ विकेट र १६ रनले हराएको नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ।
नेदरल्याण्ड्स नेपाल लागि सबैभन्दा धेरै पटक टी-२० खेल्ने प्रतिद्वन्द्वी हो। अहिलेसम्म दुवै टोलीबीच १३ टी-२० अन्तर्राष्ट्रिय खेल भएकोमा नेपालले ५ जित्दा नेदरल्याण्ड्सले ७ खेल जितेको छ र एक खेल भने नतिजाविहीन रहेको छ।
सन् २०१५ मा पहिलोपटक आमना-सामना गरेका यी दुई टोलीबीच पछिल्लो भेट २०२४ को ट्वेन्टी ट्वेन्टी विश्वकपमा अमेरिकामा भएको थियो, जहाँ नेपाल ६ विकेटले पराजित भएको थियो।
नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहित पौडेलको कप्तानीमा टी-२० सिरिजका लागि टोलीको घोषणा गरिसकेको छ। यो सिरिजका लागि नेपालले अघिल्लो पटक आईसिसी लिग-२ मा रहेको टोलीमा थोरै परिवर्तन गरेको छ।
लिग-२ खेलिसकेका अधिकांश खेलाडीलाई निरन्तरता दिइएको छ भने चोटका कारण गुल्सन झा र सोमपाल कामी टोलीबाहिर छन्। उनीहरूको स्थानमा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह टोलीमा भित्रिएका छन्। किरणले पहिलोपटक राष्ट्रिय टोलीमा स्थान पाएका छन् भने रुपेश डेब्यूको पर्खाइमा छन्।
