फेसबुकमा ‘अलबिदा’ लेखेका डाक्टर रिसोर्टमा सकुशल भेटिए
काठमाडौं । फेसबुकमा स्टाटस लेखेर सम्पर्कविहीन भएका डा.केशव श्रेष्ठ सकुशल भेटिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा.श्रेष्ठलाई सकुशल भेटाएको हो।
उनलाई तार्केश्वर नगरपालिका-३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा भेटिएको परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए।
बालाजुमा भेटिएका डा.श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याइँदै छ। फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कविहीन भएपछि प्रहरीले खोजी तीव्र पारेको थियो।
विचौलियाका कारण एक्लिए डा.केशव,नोट लेखेर बेपत्ता,खोज्दै प्रहरी
काठमाडौं। आफ्नो विज्ञता अनुसारले काम गर्न नपाएको विचौलियाहरूले दुख दिएको भन्दै रामेछाप अस्पतालका निवर्तमान निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.केशव श्रेष्ठ सोमबार बिहान एक स्टाटस लेखेर सम्पर्कविहीन भएका छन्। यो समाचार तयार पार्दा सम्म डा श्रेष्ठ सम्पर्कविहिननै छन्।
सामाजिक सञ्जालमार्फत घर परिवारसँग माफी माग्दै उनी सम्पर्कविहीन भएका हुन्।
उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘करीब २५ महिना सेवा गर्दा १८ महिना अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट भएर चलाउने मौका पाए। दिन-रात खटिएर अस्पताल कसरी राम्रो अनि उत्कृष्ट बनाउने भनेर लागेँ। म प्रमुख भए पछि काम चोर्ने, ठग्ने, सिस्टममा नबस्ने कर्मचारीहरूको भागा-भाग हुन थाल्यो पछि सबै जना मेरो विरुद्ध लागेपछि आज मेरो यो अवस्था भयो।
जागिरको क्रममा आफूलाई विभिन्न व्यक्तिहरूले दुःख दिएको कुरा उल्लेख गर्दै उनले गल्ती बिनाको सजाय भोग्न बाध्य बनाइएको खुलाएका छन् । उनले केही व्यक्तिहरूको नाम उल्लेख गर्दै आफूलाई आत्महत्या गर्न बाध्य बनाइएको उल्लेख गरेका छन्।
गैँडाकोटका स्थायी बासिन्दा डा.श्रेष्ठ करारको जागीर खाँदै नेपाल प्रहरी हुँदै अहिलेको बागमती प्रदेशको लोकसेवा बाट सरकारी सेवामा प्रवेश गरेका चिकित्सक हुन।
आफूले न्याय पाउने आधार नदेखेपछि मृत्यु स्वीकार्न लागेको भन्दै उनले फेसबुकमा सुसाइड नोट लेखेका हुन्। उनको खोजीमा काठमाडौं, हेटौंडा र रामेछापमा प्रहरी परिचालन भएका छन्। तर, अहिलेसम्म केही पनि पत्तो लागेको छैन।
काम गर्ने शिलशिलामा अन्य सरकारी निकाय र स्थानीय जनप्रतिनिधिले दुख दिएको भन्दै उनले आफू आत्म हत्याको प्रयास गरेको समेत जनाएका छन्।
रामेछापकै कर्मचारी केदार कार्कीले मागेको पैसा नदिँदा अनि भनेको कार्यालय सहयोगीलाई जागीर नलगाउँदा आफूले कारवाही गरेका डाक्टरहरू लाई प्रयोग गरी झुटा आरोपहरू लगाएर आफ्नो सरुवा गराएको श्रेष्ठले उल्लेख गरेका छन्।
बदलाको भावनाले प्रतिशोध साधेर मेरो विरुद्ध पत्र लेख्न लगाएर सुनियोजित ढंगले मलाई रामेछाप छोड्न बाध्य बनाइयो, मैले बुझबुझारथ केही नगरी मन्त्रालयमा गाडी खोसे, हाजिर पनि नगरेकोलाई गाडीमा रामेछाप पठाइयो। मलाई अमानवीय व्यवहार गरेर हेटौडामा अलपत्र पारे।
सरुवा गरिएको छ हेटौडा अस्पतालमा, तर हाजिर गराइएको छ मन्त्रालयमा। मलाई धेरै दु:ख दिए, अहिले यो दुखरपीडा सहन अनि सोच्न पनि सकेको छैन। मैले जिन्दगीबाट नै हार खाएँ। कतैबाट केही साथरसहयोग पाउन सकिनँ।’
हाल उनलाई संघीय स्वास्थ्य मन्त्रालयको समन्वयमा साइबर व्युरोले खोजी रहेको स्वास्थ्य मन्त्रालयका नीति योजना तथा गुणस्तर महाशाखा प्रमुख डा कृष्ण पौडेलले बताए। हामीले थाहा पाउने बित्तिकै प्रहरीलाई खबर गरेका छौँ उनले भने बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई पनि भनिसकेका छौँ अहिले प्रहरी र पारिवारिक सदस्यको सहयोगमा उहाँलाई खोजि कार्य गरेका छौँ। पछि के कारणले यस्तो भएको रहेछ खोजबिन पनि हुन्छ।
उनको अन्तिम लोकेशन चाबाहिल देखाएको समेत उनले बताए।
पछिल्ला वर्षहरूमा चिकित्सकहरू विदेश पलायन हुने संख्या बढ्दै गइरहेको समयमा नेपालमानै रहेर सरकारी सेवामा प्रवेश गरेर सेवा दिँदै आएका चिकित्सकले काम गर्ने शिलशिलामा साथ सहयोग नपाएर यो अवस्थाम पुग्नु पर्ने बाध्यता आउनु लाजमर्दो भएको चिकित्सकहरूले बताएका छन्।
नाम उल्लेख नगर्ने शर्तमा स्वास्थ्य मन्त्रालयमा कार्यरत एक चिकित्सकले भने ‘शिलशिलामा साथ सहयोग नपाएर यो अवस्थामा पुग्नु पर्ने बाध्यता आउनु लाजमर्दो हो, हामी चिकित्सकहरू आफ्नै मेहनतले अध्ययन गरेर यहाँ सम्म आएका हुन्छौँ। काम गर्ने शिलशिलामा पनि हामीहरू दायाँबायाँ नगरी नियम संगतले काम गर्न खोज्छौँ। तर धेरै ठाउँमा त्यस्तै मान्छेलाई अर्घेलो गराइन्छ।

