त्रिकोणात्मक टि-२० सिरिज: नेपालसँग स्कटल्याण्ड पराजित

काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि-२० आई सिरिजको तेस्रो खेलमा घरेलु टोली स्कटल्याण्डलाई २ विकेटले हराएको छ । सिरिजमा नेपालको यो पहिलो जित हो ।

स्कटल्याण्डले प्रस्तुत गरेको ९८ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा अन्तिम ओभरमा पूरा गरेको हो । यस जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । नेपाल, नेदरल्यान्ड्स र स्कटल्याण्ड तीनै टोलीको समान २-२ अंक छ ।

मंगलबार डन्डीस्थित टिटवुडमा नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ३० रनको योगदान दिए । सामान्य लक्ष्य पछ्याउने क्रममा नेपाल एक समय ३८-३ को स्थितिमा पुगेको थियो। नेपालले तेस्रो ओभरमा ओपनर लोकेश बमलाई ९ र चौथो ओभरमा अनिल साहलाई ३ रनमा गुमाएको थियो । कप्तान रोहित ७ रन जोड्दै आठौं ओभरमा आउट भएका थिए ।

कुशल १३ औं ओभरको पहिलो बलमा मार्क वाटको एलबीडब्लु धरापमा पर्दा नेपाल ६०(४ को स्थितिमा पुग्यो । उनले ३५ बलमा ४ चौका प्रहार गरे ।

जास्पर डेभिडसनले फ्याँकेको १५ औं ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरी १४ रन जोड्दै कट बिहाइन्ड भए । त्यसको २ बलपछि बासिर अहमद पनि पेभेलियन फर्किए । १३ रन जोडेका उनलाई माइकल लिस्कले आफ्नै बलमा सानदार क्याच गरेपछि नेपाल ७७-६ को स्थितिमा पुग्यो ।

लिस्कले १८ औं ओभरमा आफ्नो स्पेलको अन्तिम बलमा रुपेश सिंहलाई क्याच आउट गराए । लामो सट खेल्ने धुनमा ६ रन जोडेका किरण सफियान सरिफको हातबाट समातिए ।

किरण ठगुन्ना १६ बलमा १० रन जोडेर आउट भए । ३ बलमा जितका लागि १ रन आवश्यक पर्दा छक्का हान्न खोजेका उनी क्याच आउट भएका थिए । करण केसी ३ रनमा नटआउट रहँदा सन्दीप लामिछानेले पहिलो बलमै विजयी सिंगल लिए।

स्कटल्याण्डका माइकल लिस्क र सफियान सरिफले २-२ तथा ब्रेन्डन मक्मलेन, ज्याक जार्भिस, मार्क वाट र जास्पर डेभिड्सनले १-१ विकेट लिए ।

त्यसअघि नेपालका लागि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्याण्ड १९.४ ओभरमा मात्र ९७ रनमा अलआउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित ११ रन मात्र खर्चिए । सन्दीपले पावरप्लेमा अन्य बलरले गरेको बलिङ प्रदर्शनलाई सुखद अन्त्य गराएका थिए ।