रास्वपा कार्यालयमै बनेको थियो गृहमन्त्री लेखक विरुद्ध नक्कली उजुरीको योजना,उजुरीकर्ताको नै खुलासा

काठमाडाैं। गृहमन्त्री रमेश लेखक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमै योजना बनाएर गरिएको खुलासा भएको छ। वैदेशिक रोजगारीमा ठगिएका भनिएका युवाहरूले नै यो खुलासा गरेपछि राजनीतिक हलचल तीव्र बनेको छ।

गत केही दिनअघि सञ्चार माध्यममा गृहमन्त्री लेखक विरुद्ध अख्तियारमा उजुरी परेको विषय सार्वजनिक भएको थियो। तर अब उजुरीकर्ता मध्येकै एक जनाले यो उजुरी कसरी र कहाँबाट योजना बनाएर गरिएको थियो भन्ने विषयमा विस्तृत जानकारी दिएका छन्।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ का मनोज गुरुङले आफ्नो अनुभव सुनाउँदै भने, रास्वपा कार्यकर्ताले ठगिएको विषयमा सहयोग गर्ने भन्दै केन्द्रीय कार्यालयमा बोलायो। त्यहाँ गएपछि उजुरी दिने योजना बनाइयो। उनले थप भने, पहिलो दिन रास्वपा कार्यालयमा योजना बन्दा सांसद सुमना श्रेष्ठ पनि आउनुभएको थियो।

योजना बनेको भोलिपल्ट उनीहरूलाई रास्वपा कार्यकर्तासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको गुरुङले बताए। अख्तियारको आगन्तुक कक्षमा उजुरी लेख्ने काम भयो, उनले भने। सबैको उजुरी लेखिदिने दुई जना अपरिचित मान्छे थिए। तर चिन्दैनौं। अरुको उजुरी लेख्दै थिए। हाम्रो पनि लेखिदिन्छौ भन्यो।

आयोगमा उजुरीकर्ताहरूले गृहमन्त्रीको नाम आफूहरूले नलिएको दाबी गरेका छन्। गुरुङले भने, समस्या भन्यौं उहाँले लेख्नुभयो। तर उजुरीमा हस्ताक्षर गर्न भने त्यसमा गृहमन्त्रीको नाम जोडेको कुरो अर्को दिन मिडियामा आएपछि थाहा पायौं। उनले स्पष्ट पारे, उजुरी लेखेपछि हस्ताक्षर गर्न भन्यो उता दिन भन्यो। तर गृहमन्त्रीको विषय हामीले त्यो भनेको होइन। हाम्रो समस्या मात्रै भनेको हो। त्यहाँ गृहमन्त्री जोडेछन् हामीलाइ थाहा छैन।

उजुरी दिएर बाहिर निस्कँदा केही सञ्चारकर्मी उपस्थित रहेको र उनीहरूले भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको समेत गुरुङले बताए। उजुरी हालेर बाहिर निस्किँदा केही मिडियाकर्मी साथीहरू थिए। उहाँहरूले भिडियोहरू लिनुभयो र फेसबुकतिर हाल्नुभएको रहेछ,उनले भने।

यो घटनामा संलग्न अन्य दुई युवक सिलमान गुरुङ र मनोज गुरुङले समेत आफूहरूले मिडियामा वैदेशिक रोजगारीको विषयमा ठगिएकाहरूलाई सहयोग गर्ने खालको सूचना पाएको बताएका छन्। उनीहरूको भनाइअनुसार उनीहरू एक वर्षअघि पोल्यान्ड जान एजेन्टमार्फत प्रयास गरेका थिए तर रिजेक्ट भएपछि ग्रिसका लागि फेरि पैसा बुझाएका थिए।

विदेश जाने निर्णय लिएर पहिलो पटक पोल्यान्ड जान प्रयास एक वर्षभन्दा बढी समयअघि परेको हो, गुरुङले भने। तर रिजेक्ट भयो, त्यहाँबाट हाम्रो एजेन्टले फेरि अर्को देश लगाइदिन्छु भन्ने कुरा गर्यो। ग्रिसका लागि गर्छु भन्यो। पोल्यान्ड गर्दा पनि एक वर्षअगाडि चार चार लाख बुझाएको हो। त्यो फिर्ता भएन।

उनले एजेन्टले फेरि पाँच देखि छ लाख थपेर अर्को देशका लागि कुरा भएपछि प्रतिव्यक्ति नौ देखि दश लाख बुझाएको बताए। पछि साथीहरूले उजुरी गरेपछि एजेन्ट पक्राउ परेछन्, उनले भने। रास्वपाकै साथीहरूको आग्रहमा रास्वपा कार्यालय पुगेका हौं। बेरोजगारीमा बेला पनि हामीलाई यस्तो झन्झटमा पार्ने काम भयो।

यसैबीच गृहमन्त्री रमेश लेखकले गत शुक्रबार प्रतिनिधिसभामा बोल्दै आफूविरुद्ध पार्टी कार्यालयमा नक्कली पीडित खडा गरी किर्तेजालसाँच गरी उजुरी दर्ता गरेको दाबी गरेका थिए। कुन पार्टी कार्यालयमा किर्ते जाहेरीको काम भएको छ त्यो मलाई जानकारी भइसक्यो, लेखकले प्रतिनिधिसभामा भनेका थिए। किर्ते जालसाज र अमर्यादित काम गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न आग्रह गर्छु।

लेखकले किर्ते जालसाजमा संलग्नहरूलाई खोजी गरी कारबाहीको गर्ने चेतावनी समेत दिएका थिए। यो विवादले नेपाली राजनीतिमा नयाँ बहस सुरु गरेको छ भने विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन्।

यस प्रकरणले राजनीतिक दलहरूबीच आरोप प्रत्यारोपको नयाँ चक्र सुरु गरेको छ भने वैदेशिक रोजगारीमा ठगिएका युवाहरूको वास्तविक समस्या राजनीतिक स्वार्थका लागि दुरुपयोग भएको आरोप लागेको छ।