जुलाइबाट युरोपमा नेपाली कामदार पठाउने तयारी

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रमलाई नवीन र प्रभावकारी ढङ्गले अगाडि बढाउने योजना रहेको बताएका छन्।

आगामी जुलाईबाट युरोपमा संस्थागत रूपमा श्रमिक पठाउने व्यवस्था गरिएको र उच्च मानवअधिकार भएका मुलुकहरूमा श्रमिक पठाउन तयारी भइरहेको उनले जानकारी दिए।

मङ्गलवार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले रोजगारी सिर्जनालाई प्राथमिकतामा राखी आन्तरिक रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिए।

उनले नेपालको मानव संसाधनको विकास गरी दक्ष र सीपयुक्त जनशक्तिलाई आन्तरिक रोजगारीमा जोड्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे । श्रम आप्रवासन नीति तर्जुमा अन्तिम चरणमा रहेको र सबै स्थानीय तहमा एकीकृत श्रम तथा रोजगार सेवा प्रदान गर्न कार्यक्रम तय गरिएको उनले बताए।

साथै, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मापदण्ड र मानवअधिकारको सम्मान गर्ने नीति अवलम्बन गरिएको उनको भनाइ छ। मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको सुरक्षा र सुविधा सुनिश्चित गर्न थप पहल गरिने प्रतिबद्धता व्यक्त गरे।