सार्वजनिक यातायात बन्द नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा बन्द हड्ताल नगर्न व्यवसायीको नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशहरु तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले यातायात बन्दरहड्तालका क्रियाकलाप नगर्न अन्तरिम आदेश जारी गरेको हो।
राइड सेयर सम्बन्धी विधेयक अघि बढेको विरोधमा गण्डकी प्रदेशमा यातायात व्यवसायीहरूले सवारीसाधन बन्द गरेर विरोध गरेका थिए। गण्डकी प्रदेशबाट सुरु भएको विरोध पछि देशव्यापी बनेको थियो।
यातायात व्यवसायीहरूले सुरु गरेको बन्द हड्तालको विरोधमा उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थिए।
मञ्जले भौतिक मन्त्रालय, भौतिक योजना तथा पूर्वाधार मन्त्री, यातायात व्यवस्था विभाग लगायत सात प्रदेशका यातायात मन्त्रालयलाई विपक्षी बनाएको थियो । उनले बन्द हड्ताल नगराउन माग गर्दै यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई पनि विपक्षी बनाएको थियो।
