नेपालले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे सुरु हुनेछ।

समूह ए मा अपराजित रहेको नेपाली युवा टोली लगातार तेस्रो जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहन्छ। समूह चरणको दुई खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

समूह चरणमा खेलेको दुई खेलमध्य एक खेलमा जित र एक खेलमा हार भोगेको इन्डोनेसिया २ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

समूह चरणको पहिलो खेलमा सिगांपुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको थियो ।