विषालु च्याउ खाँदा एकै गाउँका १६ जना बिरामी, तीनको अवस्था गम्भीर

काठमाडौं । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ टाँडीस्वारामा विषालु च्याउको तरकारी पकाएर खाँदा एउटै गाउँका १६ जना बिरामी भएका छन्।

स्थानीय जीवनज्योति चर्च मण्डलीको भवनको ढलानको काम गर्न गएका उनीहरू घर ढलानको भोजमा च्याउको तरकारी खाएर बिरामी परेका हुन्।

च्याउ खाएर बिरामी भएकामध्ये नौ जनाको चितवनको भरतपुरस्थित सरकारी अस्पताल र सात जनाको भरतपुरकै भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा उपचार भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

बिरामीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए । उनीहरु सबै बुलिङटार गाउँपालिका–२ का बासिन्दा हुन् ।

च्याउ खाएर बिरामी परेका स्थानीय १७ वर्षीया निशा ठाडामगर, ४५ वर्षीय एकवीर बराल र ५० वर्षीया चुलीमाया थापाको अवस्था गम्भीर छ। च्याउ खाएर बिरामी हुनेहरूमा सोही ठाउँका ५१ वर्षीया समीमाया राना, १७ वर्षीया कविता लुङ्गेली, ३७ वर्षीय सीताराम गरन्जा मगर, ४८ वर्षीय कृष्णबहादुर राना, ७८ वर्षीया जसु डिसुवा मगर र ४२ वर्षीया हुमाया सारु रहेका छन्।

यस्तै स्थानीय ६६ वर्षीया गनिसरा रानामगर, ४० वर्षीया मनमाया लुङ्गेली मगर, ३५ वर्षीया धनमाया लुङ्गेली, ५० वर्षीया रुमा गाहामगर, १८ वर्षीय राजन रानामगर, ३१ वर्षीय सञ्जय कुमाल र उनकी सात वर्षीया छोरी एरिना कुमाल पनि च्याउ खाए बिरामी परेका छन्।