राजावादी आन्दोलन पूर्णरूपमा निस्तेज भइसक्यो: गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले २०८१ फागुन २५ गतेदेखि चर्किएको राजावादी आन्दोलन पूर्ण रूपमा निस्तेज भएको बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सोमबारदेखि जारी बैठकमा मङ्गलवार आफ्नो मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्दै मन्त्री लेखकले यस्तो जानकारी दिए।
केहीले राजावादी आन्दोलनले शासन व्यवस्था उल्ट्याउन सक्छ भन्ने ठानेका थिए, तर त्यो आन्दोलन अब पूर्ण रूपमा कमजोर भइसकेको छ र पुनः उठ्न सक्दैन,उनले भने। उनले गणतन्त्रविरोधी गतिविधिहरू निष्प्रभावी भएको र मुलुकका केही स्थानमा देखिएको धार्मिक भड्कावको सम्भावना पनि टरेको बताए।
मन्त्री लेखकले सीमापार गतिविधिहरूको जोखिम रहेको उल्लेख गर्दै सवारी दुर्घटना, लागुऔषध दुरुपयोग, आत्महत्या र साइबर अपराधलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरे। यी अपराधहरू नियन्त्रण गर्न विशेष पहल भइरहेको उनले बताए।
साथै, पुराना अपराधका घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने कार्य पनि निरन्तर रहेको उनको भनाइ छ। उनले आफ्नो कार्यकाल सुरु हुँदा देशमा सहकारी, मिटर ब्याजलगायत विभिन्न १७ वटा आन्दोलन सक्रिय रहेको स्मरण गरे।
अहिले माइतीघर मण्डला खाली छ, राजावादी आन्दोलन पनि सेलाएको छ,उनले भने, ‘सबै कुरा राम्रो भयो भन्ने होइन, तर राम्रो गर्न प्रयास जारी छ ।यसमा साथीहरूको सुझाव पनि अपेक्षित छ। लेखकले गृह मन्त्रालयले शान्ति-सुरक्षा कायम गर्न र अपराध नियन्त्रणमा प्रभावकारी कदम चालिरहेको दाबी गरे।
