अख्तियार मविरुद्ध लाग्नुमा गगन थापाको हात छः मोहन बस्नेत

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहन बस्नेतले महामन्त्री गगन थापा आफ्नो विरुद्धमा रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन्।

बस्नेतले महामन्त्री थापाले टेरामक्स प्रकरणमा आफूविरुद्ध संसद्‌मा बढी बोल्ने गरेको आरोप लगाए। उनले महामन्त्री थापाप्रति संकेत गर्दै अख्तियार आफ्नो विरुद्धमा लाग्नुमा उनको भूमिका रहेको आरोप समेत लगाए।

उनले भने, ‘महामन्त्री गगन थापा टेरामक्स प्ररणमा मविरुद्ध खुलेरै लाग्नुभयो। बाहिर पनि लाग्नुभयो, संसद्‌मै पनि लाग्नुभयो, तपाईंकै कारणले मविरुद्ध अख्तियारले छानबिन गर्‍यो।

उनले आक्रमक हुँदै थपे, ‘मविरुद्ध लाग्ने तपाईं हैन रु ढिलोछिटो पालो सबैको आउँछ। हेरौँला कोही चोखो हुने वाला छैन, सग्लै चोखिने वाला कोही छैन ।’

भ्रष्टाचारको मुद्दामा एउटाले अर्कोलाई सकाउनका लागि नेपाल पाकिस्तानको मोडलमा गएको बस्नेतले पार्टी बैठकमा बताए । उनले पार्टीको नेतृत्व तहमा रहेका नेताहरू संगठन जोगाएर, पार्टीलाई जिताएर ल्याइरहने नेताविरुद्ध किन खनिन्छन् आफूले बुझ्न नसकेको पनि बताए।

उनले भने, ‘जुन मान्छेले एक्लै लडेर सिन्धुपाल्चोकमा संगठन बनाएको छ। माओवादीसँग एक्लै भिडिरहेको छ त्यही नेतामाथि नेतृत्व खनिने रु तपाईंले जति गरे पनि टेरामक्समा मेरो केही गल्ती छैन । तर मलाई धेरथोर बदनाम बनाउने काम भयो।