पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनले एमालेमा ओलीको एकाधिकारमाथि चुनौती, दशौं महाधिवेशनमा प्रत्यक्ष भिडन्तको संकेत

काठमाडाैं। नेपाली राजनीतिमा एक नयाँ मोड सुरु भएको छ। मुलुकको सर्वोच्च संवैधानिक पदमा पुगेर साझा अभिभावकीय भूमिका निर्वाह गरिसकेका पूर्व राष्ट्रपति र उपराष्ट्रपति दुवै जना अब आफ्नो मूल पार्टीको सक्रिय राजनीतिमा फर्किएका छन्। यो घटनाले नेपाली राजनीतिक परिदृश्यमा महत्वपूर्ण परिवर्तनको सूत्रपात गरेको छ।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ नेकपा माओवादी केन्द्रको उपाध्यक्ष पदमा फर्किएका छन्। उनी मुलुकको दोस्रो वरियताका पदमा रहेका बेला आफ्नो पार्टीमा पनि अध्यक्ष पछिको दोस्रो स्थानमा फर्किएका छन्। यद्यपि, पार्टीको वरियताक्रममा भने उनले पूर्ववत् दोस्रो स्थान कायम राख्न सकेका छैनन्।

अर्कोतर्फ, उनकै कार्यकालमा राष्ट्रपति रहेकी विद्यादेवी भण्डारीले शनिबार मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा पार्टी सदस्यता नवीकरण गरेर एमालेको सक्रिय राजनीतिमा फर्किने उद्घोष गरेकी छिन्। उनको यो घोषणाले एमालेको आन्तरिक राजनीतिमा तीव्र हलचल सिर्जना गरेको छ।

एमालेमा ओली-विद्या शक्ति संघर्षको सुरुवात

विद्यादेवी भण्डारीको पुनरागमनले एमालेमा नयाँ शक्ति संघर्षको सुरुवात गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई निर्विकल्प नेतृत्व ठान्दै आएको समयमा भण्डारीको सक्रियताले उनको एकल साम्राज्यमा चुनौती खडा गरेको छ। राजनीतिक विश्लेषकहरूले यसलाई एमालेमा ओली-विद्या आमनेसामनेको अवस्था भन्दै मूल्याङ्कन गरेका छन्।

ओलीले यसअघि देखि नै राष्ट्रको सम्मानजनक पदमा पुगेका व्यक्तिहरू सक्रिय राजनीतिमा फर्कनु उचित नहुने भन्दै विद्यालाई लक्षित गरेर अभिव्यक्ति दिँदै आएका थिए। शनिबार राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा भण्डारीको सम्बोधन नसुनेर उनले कार्यक्रमस्थल छोडेको घटनाले ओलीको चिन्ता र असहजताको स्पष्ट संकेत दिएको छ।

भण्डारीको पुनरागमनले एमालेको आन्तरिक राजनीतिमा ध्रुवीकरण बढाएको छ। पार्टीका केही नेताहरूले उनको यो कदमलाई स्वागतयोग्य ठानेका छन् भने अरू केहीलाई अरुचिकर लागेको छ। यसले पार्टीमा दुई धारको निर्माण गरेको छ।
ओलीले विद्यालाई रोक्न विधान संशोधन गर्ने तयारी गरेका थिए तर ती सबै प्रयासहरू अन्ततः निरर्थक साबित भएका छन्। उनका सबै कुतर्क र तिकडमहरूले काम गर्न नसकेपछि अब उनले प्रत्यक्ष राजनीतिक चुनौतीको सामना गर्नुपर्ने भएको छ।

नेतृत्वको लागि चुनौतीपूर्ण बाटो

भण्डारीको अगाडि एमालेको नेतृत्व सम्हाल्नका लागि दुई मात्रै विकल्प छन्। एकचाहिं सर्वसम्मत नेतृत्वमा पदस्थापना र अर्को चाहिं प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व हासिल गर्नु। तर वर्तमान परिस्थितिलाई हेर्दा उनलाई सर्वसम्मत अध्यक्ष स्विकार्ने सम्भावना न्यून देखिन्छ, जसको कारण उनले प्रतिस्पर्धाको बाटो छनोट गर्नुपर्ने बाध्यात्मक अवस्थामा छिन्।

पूर्वराष्ट्रपतिको हैसियतले गर्दा उनी पुरानै उपाध्यक्ष पदमा फर्कनु पनि उचित देखिदैन। त्यसैले उनको एकमात्रै उपाय भनेको आगामी दशौं महाधिवेशनमा ओलीलाई विस्थापन गरेरै नेतृत्वमा आउनु हो। यसका लागि एमालेका पदाधिकारी र स्थायी समितिका केही नेताहरूले भण्डारीको पुनरागमनको पक्षमा पार्टी भित्र र बाहिर माहौल बनाउन थालेका छन्।

ओलीको निरंकुशता विरुद्ध चुनौती

ओलीले पार्टीको विधि विधानलाई पूर्णतया अवज्ञा गर्दै निरंकुश शासन चलाउने प्रवृत्ति देखाएका छन्। उनले उमेरहदको औचित्य सकिएको भन्दै यसलाई स्थगन गरेका छन् र दुई कार्यकाल भन्दा बढी पार्टीको कार्यकारी पदमा नरहने प्रावधानलाई पनि लत्त्याएका छन्।
यसअघि नवौं महाधिवेशनमा ओलीविरुद्ध उम्मेदवारी दिएका माधवकुमार नेपाललाई एमालेबाट बाहिरिन बाध्य पारियो। त्यसैगरी दशौं महाधिवेशनमा उम्मेदवारी दिएका भीम रावललाई पनि अपमानजनक ढंगले पार्टीबाट निष्कासित गरियो। यसरी ओलीले पार्टीमा आफ्नो निरंकुश चरित्र प्रदर्शन गरिरहेको बेलामा विद्याको आगमनले उनमा निकै बेचैनी बढाएको छ।

 भण्डारीको पुनरागमनले नेपाली राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ। केहीले उनको पुनरागमनले वाम एकताको वातावरण बनाउने अपेक्षा गरेका छन्। ओलीको क्रियाकलापबाट आजित भएर एमालेबाट विभाजित भएको एकीकृत समाजवादी पार्टी भण्डारीको नेतृत्वमा फेरि एकताबद्ध हुने सम्भावना छ।

दशौं महाधिवेशनमा ओली-विद्या भिडन्त

वर्तमान घटनाक्रमले आगामी दशौं महाधिवेशनमा ओली-विद्याकै प्रत्यक्ष प्रतिस्पर्धा हुने निश्चितप्रायः देखिन्छ। ओलीले यसअघि नै पार्टीमा तेस्रो पटक नेतृत्वमा आउने सार्वजनिक उद्घोष गरिसकेका छन्। अर्कोतर्फ भण्डारीले उनको एकल नेतृत्व मोहमा तगारो बनेर अघि बढेकी छिन्।

 भण्डारीको पुनरागमनले एमालेमा ओलीको एकाधिकार तोड्दै आन्तरिक लोकतन्त्रको अभ्यासलाई पुनर्जिवीत तुल्याउने प्रमुख भूमिका खेल्ने देखिन्छ। यसले उनका पति मदन भण्डारीद्वारा प्रतिपादित प्रतिस्पर्धाबाटै श्रेष्ठता हासिल गर्ने एमालेको पथप्रदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई समेत न्याय प्रदान गर्नेछ।

कुनै बेला एमालेमा ओलीकै सारथि रहेकी विद्यादेवी भण्डारी अब आफ्नो पूर्व नेतालाई नै चुनौती दिने ठाउँमा पुगेकी छिन्। उनको पुनरागमनले वाम आन्दोलनमा उल्लेखनीय उपलब्धि हासिल हुन नसके पनि एमालेमा ओलीको निरंकुश शासनको अन्त्य गरी पार्टीमा आन्तरिक लोकतन्त्र पुनर्स्थापना गर्न प्रभावकारी भूमिका खेल्ने निश्चित छ।