कांग्रेस बैठकमा नेताहरूको आक्रोश,ओलीले सहमति बेवास्ता गरे
काठमाडौं। नौ महिनाको लामो अन्तरालपछि सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ। गत सोमवारदेखि सुरु भएको यस बैठकमा कांग्रेसभित्रको आन्तरिक मनमुटाव र असन्तुष्टि खुलेर छताछुल्ल भएको छ।
पार्टीभित्रको गुटबन्दी, भ्रातृ संस्थाहरूको अधिवेशनको अभाव, पार्टी र जनप्रतिनिधिको समन्वयको समस्यालाई जोड दिँदै केन्द्रीय सदस्यहरूले नेतृत्वको ध्यानाकर्षण गराएका छन्। विशेष गरी सरकारको गति र पार्टी सङ्गठनको अवस्थाप्रति नेतृत्वको चर्को आलोचना गर्दै नेताहरुले गम्भीर असन्तुष्टि पोखेका छन्।
सरकारको समीक्षा सहित विभिन्न १३ वटा एजेन्डामा छलफल गरिरहेको कांग्रेस बैठकमा बहसको केन्द्रमा भने प्रधानमन्त्री केपी शर्मा ओली रहेको पाइएको छ। ठूलो दल हुँदाहुँदै नेतृत्वको लाचारीपनका कारण कांग्रेस-एमालेको आज्ञापालक भएको भन्दै नेताहरू असन्तुष्ट छन्।
बैठकमा सहभागी नेताहरूका अनुसार वर्तमान गठबन्धनमा कांग्रेसको भूमिका प्रभावकारी नभएको र पार्टीले आफ्नो नीति र कार्यक्रम अनुसार काम गर्न नसकेको गुनासो उठेको छ। यस्तै पार्टीको संगठनात्मक कमजोरीले गर्दा जनताको अपेक्षा पूरा गर्न नसकेको आलोचना पनि भएको छ।
केन्द्रीय समितिको यो बैठकले कांग्रेसभित्रको आन्तरिक द्वन्द्व र असन्तुष्टिलाई स्पष्ट रूपमा प्रकट गरेको छ। आगामी दिनहरूमा यी समस्याहरूको समाधान कसरी गर्ने भन्नेमा पार्टी नेतृत्वको ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ।
कांग्रेस बैठकमा ओलीमाथि खनिए नेता, सत्ता यात्रा गर्न देउवालाई दबाब
कांग्रेसको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा आलोचना भएको छ। बैठकमा सहभागी नेताहरूले सात बुँदे सहमतिको कार्यान्वयनमा ढिलाइ भएको भन्दै ओलीको आलोचना गरेका छन्।
बैठकमा बोलेका नेताहरूले प्रधानमन्त्री ओलीले सहमतिका बुँदाहरू पूरा गर्नमा बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नो भावी कार्यकालका लागि सक्रिय भूमिका खेल्न दबाब दिएका छन्।
कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार पहिलो दुई वर्ष ओली र पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री हुने भनिएकाे छ। तर कांग्रेसी नेताहरूले यस सहमतिका अन्य बुँदाहरू कार्यान्वयनमा नआएको गुनासो गरेका छन्।
बैठकमा सहभागी एक नेताले भने, सात बुँदे सहमति अलपत्र पारिएको छ। यसैले हामीले सभापतिलाई अझ सक्रिय भूमिका खेल्न आग्रह गरेका छौं।
गठबन्धनमा देखिएको यो तनावले सरकारको स्थिरतामा प्रभाव पार्न सक्ने नेताहरूकाे भनाइ छ। देउवाले आगामी दिनहरूमा कस्तो भूमिका खेल्छन् भन्ने कुरामा नेताहरूले चासो केन्द्रित गरेका छन्।
