नाउपाद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

कैलाली। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो। प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए।

सुदूरपश्चिम प्रदेश सरकारले उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि नाउपाले आकस्मिक संसदीय दलको बैठक बोलाएको थियो।

उक्त बैठकको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। पावर टिलर वितरणमा चलखेल गरेको आरोप लागेपछि बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले मन्त्री चौधरीलाई बर्खास्त गरेका थिए। त्यसबारे टिप्पणी गर्दै नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले नाउपा संघ, प्रदेश सबैतिर प्रतिपक्षमा बस्ने बताइसकेकी छन्।