कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरूबीच घमासान,मोहन बस्नेत र गगन थापाबीच तीव्र विवाद

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आन्तरिक कलह चुलिएको छ। सोमबारबाट सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूबीच तीव्र आरोप-प्रत्यारोप भएको छ। बैठकमा व्यक्तिगत आक्रमणदेखि सरकारी नीतिमाथिको असन्तुष्टिसम्म विविध विषयमा घमासान मच्चिएको छ।

बैठकमा सबैभन्दा तीव्र विवाद पूर्वमन्त्री मोहन बहादुर बस्नेत र महामन्त्री गगन कुमार थापाबीच देखिएको छ। केन्द्रीय सदस्य समेत रहेका बस्नेतले महामन्त्री थापाविरुद्ध गम्भीर आरोप लगाउँदै टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नो विरुद्ध अनुसन्धान गर्न लगाए दाबी गरेका छन्। उनले केन्द्रीय समिति बैठकमै भनेका छन्,गगन थापाले मेरो विरुद्ध अख्तियार लगाएर मलाई नियन्त्रणमा लिइयो।

बस्नेतले आफ्नो धारणा राख्दै भनेका छन्, ढिलो चाँडो सबैको समय आउने हो। गगन पनि सग्लो रहने छैन। उनको यस्तो चेतावनीपूर्ण भनाइले बैठकमा तनाव बढाएको छ। टेरामक्स खरिद भ्रष्टाचार प्रकरणमा २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका बस्नेतले आफूविरुद्ध भएको कारबाहीपछि महामन्त्री थापाविरुद्ध यस्तो आरोप लगाएका हुन्।

महामन्त्री गगन थापाले भने बस्नेतका आरोपलाई तीव्र खण्डन गरेका छन्। उनले केन्द्रीय समिति बैठकमै आफूमाथि लगाइएको आरोपलाई गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित भनेका छन्। थापाले भनेका छन्, ूमोहन बस्नेतले लगाएका आरोप पूर्णतया आधारहीन र राजनीतिक अपरिपक्वताको परिचायक हो।ू उनले बस्नेतलाई फोहोरको संज्ञा दिँदै भनेका छन्, ूफोहोरलाई चलाए आफू नै फोहोरी हुन्छ।ू
यस्तैमा नेता शेखर कोइरालाले सत्ता गठबन्धन र पार्टी नेतृत्वमाथि कडा आलोचना गरेका छन्। उनले केन्द्रीय समिति बैठकमै एमालेसँग गठबन्धन गर्नुको कारण र गठबन्धन हुँदा कांग्रेसले किन सत्ताको नेतृत्वमा दावी नगरेको भन्ने प्रश्नको जवाफ नेतृत्वले दिनुपर्ने बताएका छन्। उनले सरकारको औचित्यमाथि नै प्रश्न उठाएका छन्।
बैठकमा शेखर कोइराला र अर्का नेता विनोद चौधरीको पनि लफडा मच्चिएको चर्चा छ। केन्द्रीय समिति बैठकमा नेताहरूले सत्ता गठबन्धनको कामकारवाही र कांग्रेसको भूमिकाका विषयमा पनि प्रश्न उठाएका छन्। धेरैजसो नेताहरूले एमालेसँग गठबन्धन हुँदाका बखत भएको ७ बुँदे समझदारी परिपालना नभएकोप्रति असन्तुष्टि जनाएका छन्।
गृहमन्त्री रमेश लेखकले भने पार्टीको बैठकमा वर्तमान सत्ता गठबन्धनको विकल्प खोजिन नहुने धारणा राखेका छन्। उनले बैठकमा स्पष्ट रूपमै धारणा राखेर यदि एमालेसँगको गठबन्धनको विकल्प खोजिए कांग्रेसले ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन्। हाल भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोप खेपिरहेका लेखकले एमालेसँगको गठबन्धन तोडिए पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै त्रासपूर्ण टिप्पणी गरेका छन्।
गृहमन्त्री लेखकमाथि भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोपमा विपक्षीले संसद अवरोध नै गर्दै आएको छ। अझै पनि विपक्षी दल रास्वपा र राप्रपाले गृहमन्त्रीको राजीनामा र अनुसन्धानको माग गरिरहेका छन्। तर प्रमुख प्रतिपक्षी दल माओवादीले भने दुई बुँदे सहमति गरेर गृहमन्त्रीको राजीनामाबाट व्याक भएको स्थिति छ।
कांग्रेसको आन्तरिक बैठकमा सरकारमा पार्टीको भूमिका प्रभावकारी नभएको र सम्झौता परिपालना नभएको विषयमा गहन छलफल भएको छ। त्यस्तै नेताहरू विभिन्न सवालका मुद्दामा एकअर्काविरुद्ध खनिएका छन्। यसले पार्टी र सत्तामै बिचलन ल्याउने खतरा देखिन्छ।
दस महिनापछि सुरु भएको यो बैठकमा तातो बहस भएको छ र नेताहरूबीच विवाद चुलिएको छ। बैठकमा संगठनात्मक मामिलादेखि व्यक्तिगत गुनासासम्म विभिन्न विषयमा तीव्र बहस भएको छ।
यस्ता आन्तरिक द्वन्द्वहरूले पार्टीको एकता र सरकारको स्थिरतामा नकारात्मक प्रभाव पारेर राजनीतिक बिचलन सिर्जना गर्न सक्ने चुनौती बनेको छ। केन्द्रीय समिति बैठकमा देखिएको यस्तो कलहले कांग्रेसको आन्तरिक एकतामा गम्भीर प्रभाव पारेको छ।