कांग्रेस–एमाले गठबन्धनमा बढ्दो मतभेद, खतिवडा प्रकरणले आन्तरिक संघर्ष तीव्र
रनसुर महतारा (रमेश)
काठमाडौं। मुलुकको राजनीतिक स्थिरताका लागि गठन भएको कांग्रेस–एमाले गठबन्धनले एक वर्ष पूरा गर्न लागेको समयमा आन्तरिक मतभेदले नयाँ संकटको सामना गरिरहेको छ। विभिन्न विषयमा देखिएको असहमतिले दुई प्रमुख दलबीच दूरी बढाउँदै गठबन्धनको भविष्यमाथि प्रश्न खडा गरेको छ।
संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडु प्रकरणमा कांग्रेसका सांसद एवं राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाविरुद्ध आएका आरोपहरूले गठबन्धनमा नयाँ तनाव सिर्जना गरेको छ। यो प्रकरणमा प्रतिपक्षी दलहरूभन्दा पनि गठबन्धनकै साझेदार एमालेका सांसदहरू बढी आक्रामक देखिएका छन्।
खतिवडाले आफ्नो संलग्नता नरहेको र आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको बताएका छन्। तर प्रतिपक्षी दलहरूले यो विषयलाई ठूलो मुद्दा नबनाउँदा एमालेले भने उनलाई राजीनामाका लागि दबाब दिइरहेको छ। सत्तापक्षबाटै आएको यो दबाबले खतिवडालाई असिनपसिन भएको अवस्था छ।
आफ्नै बलमा सत्ताको नेतृत्वमा पुगेको एमालेले देखाएको यो व्यवहार कांग्रेसका लागि सह्य भएको छैन। यसले गठबन्धनको आन्तरिक गतिशीलतामा नयाँ चुनौती थपेको छ।
शिक्षा विधेयकमा पनि कांग्रेस–एमालेबीच मतभेद हुँदा यो संसदीय समितिमा छलफलकै क्रममा अड्किएको छ। शिक्षा क्षेत्रको सुधारका लागि ल्याइएको यो महत्वपूर्ण विधेयक दुई दलका बीचमा सहमति नहुँदा अगाडि बढ्न सकेको छैन।
गृहमन्त्री प्रकरणमा माओवादी केन्द्रले चालक भूमिका खेले पनि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले मुद्दा चर्काउँदा सदनमा यो विषयको सहजीकरण भइसकेको छैन। संसदको अवरोध हटाउन एमालेले रास्वपा र राप्रपासँग वार्ता नै नगरेको अवस्था छ।
यी घटनाहरूले कांग्रेस–एमाले गठबन्धनमा गम्भीर चुनौती खडा गरेको छ। मतभेदका कारण महत्वपूर्ण नीतिगत विषयहरू अगाडि बढ्न नसकेको अवस्थामा सरकारको कार्यसम्पादनमा प्रभाव पर्ने चिन्ता व्यक्त गरिएको छ।
गठबन्धनको एक वर्ष पूरा हुन लागेको समयमा देखिएका यी मतभेदहरूले भविष्यमा दुई दलबीच सहकार्यको गुञ्जाइशमा प्रश्न खडा गरेको छ। राजनीतिक स्थिरताका लागि गठन भएको यो गठबन्धनले आन्तरिक तनावको सामना गर्दै अगाडि बढ्न सक्ने कि नसक्ने भन्ने विषयमा राजनीतिक वृत्तमा चर्चा बढेको छ।
त्यस्तै नेपाली राजनीतिमा फेरि एकपटक नयाँ उथलपुथलकाे संकेत देखिन थालेकाे छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भित्रभित्रै देखिएको मतभेदले सत्तारूढ गठबन्धनमा नयाँ संकट निम्त्याएको छ। यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक चतुरताको प्रदर्शन गर्दै परिस्थितिलाई आफ्नो पक्षमा मोड्न खोजेको राजनीतिक वृत्तमा चर्चा छ।
यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस परिस्थितिको फाइदा उठाउने रणनीति अघि बढाएका छन्। उनले ओली र देउवाबीचको बढ्दो मतभेदलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने तयारी गरेका छन्। प्रचण्डको यो चाल नेपाली राजनीतिमा उनको लामो अनुभव र राजनीतिक दक्षताको परिचायक मानिएको छ।
