मेरिटोक्रेसी र शिक्षा ऐन कार्यान्वयनको माग गर्दै नेविसंघ त्रिचन्द्रको हस्ताक्षर अभियान
काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)त्रिचन्द्र बहुमुखी क्याम्पस इकाई समितिले शिक्षा ऐनको तत्काल कार्यान्वयन र विश्वविद्यालयमा योग्यता प्रणालीमा आधारित उपकुलपति नियुक्तिको माग गर्दै व्यापक हस्ताक्षर अभियान सुरु गरेको छ।
राजनीतिक भागबन्डाका आधारमा हुने नियुक्ति प्रथाले शैक्षिक तथा प्राज्ञिक वातावरणमा गिरावट ल्याएको भन्दै यसको अन्त्यका लागि दबाब दिन यो अभियान थालिएको नेविसंघ त्रिचन्द्रका सभापति अमृत बहादुर शाहीले जानकारी दिए। उनले लामो समयदेखि प्रतीक्षित शिक्षा ऐन अझैसम्म लागू हुन नसकेको कारणले समग्र शैक्षिक क्षेत्रलाई नै अलमलमा पारेको बताए।
विश्वविद्यालय जस्तो प्राज्ञिक थलोमा दलीय भागबन्डाका आधारमा उपकुलपति नियुक्त गर्ने गलत परम्पराले यसको गरिमामाथि नै प्रहार भएको छ, शाहीले भने। उनले यो विषय देशका सबै विद्यार्थीको साझा सरोकारको विषय भएको उल्लेख गरे।
नेविसंघ त्रिचन्द्रले सबै संघ, संगठन र क्रियाशील समूहलाई जोडेर विश्वविद्यालयको उपकुलपतिमा मेरिटोक्रेसी लागू हुनुपर्ने र सबै शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेको छ। यो अभियानले देशभरिका ७० लाख भन्दा बढी विद्यार्थीलाई लाभ हुने शाहीले दाबी गरे।
संगठनले वर्तमान शिक्षा विधेयकले विभेदकारी शिक्षा नीतिलाई बढावा दिएको आरोप लगाएको छ। शाहीले संविधानको मर्म र संघीयताको भावना विपरीत भएको भन्दै शिक्षालाई संविधानले प्रत्याभूत गरेको मौलिक हकअनुसार बनाउनुपर्नेमा जोड दिने बताए।
यस अभियानको उद्देश्य नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार र पारदर्शिता ल्याउने रहेको छ। विद्यार्थी संगठनको यो पहलकदमीले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप कम गरी योग्यतामा आधारित नियुक्ति प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ।
