आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ।
गएको तीन घन्टामा बैतडीको सिद्धपुरमा ५१.२ मिलिमिटर वर्षा भएको छ। त्यस्तै डोटीको गैरामा ४०.४ मिलिमिटर, जाजरकोटमा ३१.८ मिलिमिटर, रोल्पाको केउर गाउँमा २९.६ मिलिमिटर, बाँकेको नौबस्तामा ३१.८ मिलिमिटर, कैलालीको बलियामा २९ मिलिमिटर, डडेलधुराको साहुखर्कमा २९.२ मिलिमिटर वर्षा भएको छ।
अन्यत्र भूभागमा पनि छिटपुटदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
दिउँसो सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
मंगलबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
राति बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन रचट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति नै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
महाशाखाका अनुसार देशका उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा राति पनि हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

