मौद्रिक नीति संयमित र सन्तुलित हुनुपर्छ: वर्षमान पुन
काठमाडौं। पूर्वअर्थमन्त्री वर्षमान पुनले वित्त नीतिको सङ्कुचनका कारण मौद्रिक नीति संयमित र सन्तुलित रूपमा ल्याउनुपर्ने सुझाव दिएका छन्। बुधवार संसद्को अर्थ समितिमा आगामी मौद्रिक नीतिबारे भएको छलफलमा उनले यस्तो धारणा राखेका हुन्।
पुनका अनुसार, वित्त नीतिमा देखिएको सङ्कुचनले आवधिक योजनामा राखिएका लक्ष्यहरू भन्दा बजेटको आकार सानो हुँदै गएको छ। नयाँ गभर्नर नियुक्त भएसँगै निजी क्षेत्रले मौद्रिक नीतिमा सुधार र गतिशीलता (डिपार्चर) को अपेक्षा गरेको उनले बताए।
नयाँ गभर्नरप्रति निजी क्षेत्रको अपेक्षा उच्च छ। मौद्रिक नीति संयमित तर प्रभावकारी हुनुपर्छ,अत्यधिक लचिलो होइन,पुनले भने,विगतमा लचिलो नीतिका कारण अर्थतन्त्रमा नकारात्मक असर परेको छ। मौद्रिक नीतिले नियमनलाई जोड दिनुपर्छ र सरकारले प्राथमिकतामा राखेका स्टार्टअपलाई प्रोत्साहन गर्नुपर्छ।
उनले मौद्रिक नीतिले सरकारका नीति तथा कार्यक्रमलाई समर्थन गर्नुपर्नेमा जोड दिए। साथै, मुद्रास्फीति नियन्त्रणमा देखिए पनि सर्वसाधारण र मजदुरले त्यसको अनुभूति गर्न नसकेको भन्दै नेपाल राष्ट्र बैंकले यो विषयमा ध्यान दिनुपर्ने बताए।
मौद्रिक नीति सन्तुलित र समग्र अर्थतन्त्रलाई चलायमान बनाउने खालको हुनुपर्छ,उनले भने। साथै, मुलुक सङ्घीयतामा गए पनि वित्तीय संस्थाहरू अझै त्यसअनुरूप अनुकूल नभएको भन्दै आगामी मौद्रिक नीतिले यो पक्षमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।
