साफ यु–१७ महिला च्याम्पियनसिपको तालिका सार्वजनिक,नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

काठमाडौं।भुटानमा यही अगस्ट २० गतेदेखि सुरु हुने साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ साफले बुधबार चखेलतालिका सार्वजनिक गरेको हो। चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

खेल दिउँसो ३ बजे हुनेछ। अगस्ट २० गते नै साँझ ६ बजे आयोजक भुटानले बंगलादेशको सामना गर्नेछ। डबल राउन्ड रोविनका आधारमा हुने खेलमा समूहको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

अगस्ट ३१ सम्म चल्ने प्रतियोगिता राजधानी थिम्पुस्थित चाङ्लिमथाङ रंगशालामा हुनेछ। तल्लो उमेर समूहको यो प्रतियोगिताले सातौं संस्करण पार गर्दा नेपालले एकपटक मात्र उपाधि चुमेको छ।

नेपाली टोलीले तीन वर्ष अगाडि बंगलादेशमा सम्पन्न यु–१५ च्याम्पियनसिपको उपाधि जितेको थियो। त्यतिबेला नेपालले डबल राउन्ड रोविन पद्धत्तिको प्रतिस्पर्धामा घरेलु टोली र भुटानलाई पछि पारेको थियो।