रसुवा बाढी: ४८५ जनाको उद्धार, १४ नेपाली र ६ चिनियाँ बेपत्ता

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले विस्थापित ४०० भन्दा बढी व्यक्तिलाई पदमार्ग बनाएर सुरक्षित स्थानमा सारिएको छ । २४ असार मध्यरातमा आएको बाढीले धुन्चे–टिमुरे खण्डदेखि सीमानाकासम्मको सडक पूर्णरूपमा अवरुद्ध भएको छ।

सशस्त्र प्रहरी बलका अनुसार, हालसम्म ४८५ जना फसेका व्यक्तिको उद्धार गरी पदमार्गमार्फत गन्तव्यतर्फ पठाइएको छ। साथै, रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुईवटा कन्टेनर र एकवटा इलेक्ट्रिक सवारी (ईभी) लाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढीमा परेर हालसम्म तीन प्रहरीसहित १४ नेपाली र छ चिनियाँ नागरिक बेपत्ता छन्। चारवटा शव र पाँचवटा मानव अङ्ग फेला परेका छन्, जसमध्ये एक शवको मात्र पहिचान भएको छ।

फेला परेका शव र अङ्गहरूलाई परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको छ। यी शव र अङ्गहरू धादिङको गजुरी गाउँपालिका–६ बेल्खु, गल्छी–२ केउरेनिटार, बेनिघाट रोराङ–३ लामाबगर र चरौदी, गजुरी–२ मलेखु, नुवाकोटको विदुर–३ शिरखाली र मरनपाटी, रसुवाको उत्तरगया गाउँपालिका–५ उत्तरगयाधाम खोला र त्रिशूली नदीको किनारमा फेला परेका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरू उद्धार कार्यमा खटिएका छन्। मंगलबारयता बाढीको चपेटमा परेका ५० नेपाली, चार भारतीय र एक चिनियाँ नागरिकको सकुशल उद्धार भएको छ।बाढीले जोखिममा परेका १६५ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

बाढीले ४२ ईभी सवारी, २३ कार्गो कन्टेनर ट्रक, ६ ट्रक, लोडर, एक्स्काभेटर, ८ हेभी इक्विपमेन्ट, ३० वेल्डिङ मेसिन र २० ग्राइन्डिङ मेसिन बगाएको छ। रसुवागढी भन्सार क्षेत्रको ईभी चार्जिङ स्टेशन, रसुवागढी जलविद्युत आयोजनाको ड्याम, हेडवर्क्स, लेबर क्याम्प र चिलिमे जलविद्युत आयोजनाको सुरुङमार्गमा समेत क्षति पुगेको छ।

भोटेकोशी खोलामा (तिब्बततर्फ ल्हेन्दे खोला) आएको लेदोसहितको बाढीले रसुवा गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीमा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ। पुल बगाएपछि चीनसँगको व्यापार र आवतजावत पूर्णरूपमा ठप्प भएको छ। विद्युत् अवरुद्ध हुँदा मोबाइल टावरले समेत काम गर्न छोडेका छन्।