नेपालको फिफा वरीयता खस्कियो
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा पुगेको छ ।
यसअघि नेपाल १७५औँ स्थानमा थियो । नेपालले हालै दुई अन्तर्राष्ट्रिय खेल खेलेको थियो । गत जुन ५ मा हङकङसँगको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो भने एएफसी एसियन कप छनोटमा लाओससँग नेपालले पहिलोपटक २–१ को हार बेहोरेको थियो ।
दक्षिण एसियाली फुटबल (साफ) मा भारत शीर्ष स्थानमा रहे पनि ६ स्थान खस्किँदै १३३औँ स्थानमा पुगेको छ । भारतपछि माल्दिभ्स १७१औँ, बङ्गलादेश १८४औँ, भुटान १८६औँ, श्रीलङ्का १९६औँ र पाकिस्तान २०१औँ स्थानमा छन् ।
