भोटेकोशी नदीको बाढीमा परेका १९ जना अझै वेपत्ता
काठमाडौं।भोटेकोशी नदीको बाढीमा परी बेपत्ता भएका १९ जना अझै फेला परेका छैनन् । उनीहरूको खोजी भइरहेको प्रहरीले बताएको छ ।
हालसम्म ११ जनाको शव फेला परेको छ । तर, पहिचान हुन सकेकको छैन । अधिकांश शवको केही अंग मात्र भेटिएकाले पहिचानमा समस्या भइरहेको रसुवाका प्रहरी नायक उपरीक्षक (डीएसपी) हेम बहादुर शाहीले जानकारी दिए।
उहाँका अनुसार ती अंगहरु परीक्षण र पहिचानका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल पठाइएको छ। हालसम्म प्रहरी सहायक निरक्षक लालहादुर श्रेष्ठको शव मात्र सनाखत भएर अन्त्येष्टि भइसकेको छ। बर्दीयाका अरु थप दुई जना पाखुरामा नाम र ट्याट खोपेकाले पहिचान र्गन सहज भएको छ।
गोरखाका दुईजना सम्पर्कबिहीन रहेकाले उनीहरुका कोहीपनि आफन्त सम्पर्कमा आइनसकेको शाहीले बताए। प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले बेपत्ताहरूको खोजी तीव्र पारेको छ।
बाढीले सबैभन्दा बढी क्षति पुर्याएको टिमुरे भन्सार यार्ड क्षेत्रमै खोजी तीव्र पारिएको छ। शुक्रबार मात्र ११ कन्टेनर र केही इभी गाडीहरू निकालिएको छ।
त्यहीँ पुरिएका गाडीहरुमा समेत शव रहेको हुनसक्ने आशंकामा खोजी तीव्र पारिएको शाहीले जानकारी दिए। खोजीका लागि एक हजार बढी प्रहरी जनशक्ति खटाइएको छ।
