सामाजिक सञ्जालको अपीलले-क्रिकेटर रावललाई एक लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं। एसिसी यु–१६ इस्ट जोन कप क्रिकेटमा नेपाललाई उपाधि दिलाउनेमध्येका एक क्रिकेटर सुशील रावललाई रुप्से होलिडेजले एक लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ।
शुक्रबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै रावलले आफू अन्डर–१९ राष्ट्रिय टोलीको छनोटका लागि भारतमा विशेष तालिम लिन गइरहेको र त्यसका लागि कम्तीमा एक लाख रुपैयाँ आवश्यक परेको जनाएका थिए। उनले खादा र माला नभई प्रत्यक्ष रूपमा क्रिकेटको लागि आर्थिक सहयोगको अपील गरेका थिए।
उनीप्रति देखिएको प्रतिबद्धता स्वरूप रुप्से होलिडेजले एक साताभित्र नेपाल क्रिकेट संघमार्फत नगद सहयोग हस्तान्तरण गर्ने जानकारी दिएको हो।
रावलजस्ता उदीयमान खेलाडीको हुटहुटी र आर्थिक अभावले प्रतिभा ओझेलमा पर्न नदिन सहयोग गरिएको रुप्से होलिडेजले जनाएको छ।
