आलमलाई सफाइ दिएका न्यायाधीशमाथि मोसो छ्याप्नेहरूलाई सम्मान
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद आफताब आलमलाई ज्यान मुद्दामा सफाइ दिने न्यायाधीशहरू खुसीराम थारु र अर्जुन महर्जनमाथि कालोमोसो छ्याप्ने नेकपा (बहुमत) का कार्यकर्तालाई पार्टीले सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ती कार्यकर्तालाई सम्मान तथा अभिनन्दन गरिएको नेकपा (बहुमत)ले जनाएको छ ।
गत २९ जेठमा न्यायाधीशको कार्यकक्षमै पुगेर कार्यकर्ताहरूले कालोमोसो छ्यापेका थिए। नेकपा (बहुमत) का स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दिपक’ ले गरिब र निमुखा जनताको न्यायका लागि जोखिम मोलेर साहस देखाएकाले उनीहरूलाई सम्मान गरिएको बताए।पार्टीका अनुसार, राज्यका तीनवटै अङ्गमा भ्रष्टाचार चरम सीमामा पुगेको बेला भ्रष्टाचारविरुद्ध नयाँ अभियान सुरु गरिएको छ ।
कालोमोसो छ्याप्ने कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको थियो र उनीहरूले करिब एक महिना हिरासतमा बिताएका थिए। हिरासतबाट रिहा भएलगत्तै पार्टीले उनीहरूलाई सम्मान गरेको हो। कालोमोसो छ्याप्ने कार्यकर्ताहरूमा अभिनाश कुँवर, पदम मगर र गर्भू महतो रहेका छन् ।
