राप्रपा आन्तरिक कलहमा फस्यो: लिङ्देनको निर्णयविरुद्ध नेताहरू मोर्चा बन्दीमा, राजावादी आन्दोलन टुक्राटुक्रा

काठमाडौं । गत फागुन पछिको दुई÷तीन महिना राजावादीहरूको बढ्दो उभारले गणतन्त्रवादीहरूको मुटु हल्लिएको थियो। राजाप्रति आस्था राख्नेहरू सडकमा उत्रिदा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र लगायतका गणतन्त्रवादी दलहरू नै निकै ठूलो दबाव महसुस गरे। जसका कारण राष्ट्रिय प्रजातन्त्र पार्टीसँग शीर्ष नेताहरू भिडन्तमा उत्रदा पूर्व राजा ज्ञानेन्द्र शाहलाई नियन्त्रणमा लिनु पर्नेसम्म आवाज उठ्यो।

तर, राजसंस्थाप्रति जनमानसमा विश्वास पलाएता पनि राजा फर्काउने मुद्दा लिएर राजनीति गरिरहेको राप्रपा कमजोर बन्दा उपयुक्त प्रयोग गर्नबाट चुकेको छ। राजावादी सबै पक्षलाई एक ढिक्का गरेर जानु पर्ने राप्रपा पार्टीभित्रै बिभाजित हुँदा पाएको अवसरमा खडा उत्रन असमर्थ बनिरहेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्ट बनेको इतर पक्ष संस्थापनबीचको दोषारोपण जारी छ। अध्यक्ष लिङ्देनले राजावादी आन्दोलनको नेतृत्वसमेत गरेका नवराज सुवेदीलाई पार्टीको अनुशासन समितिको अध्यक्ष र सगुन लावतीलाई प्रवक्ताबाट हटाउने निर्णय गरेपछि हंगामा मच्चिएको छ। लिङ्देनको निर्णय विधान विपरीत रहेको निष्कर्ष निकाल्दै इतर पक्षले निर्वाचन आयोगमा उजुरी दिने तयारी गरेको छ।

लिङ्देनको विपक्षीमा एउटा मोर्चानै खडा भएको छ। शनिबार महामन्त्री धवलशम्शेर राणालगायतका १० पदाधिकारी र इतर समूहका ५० केन्द्रीय सदस्यबीच भएको छलफलले अध्यक्षको कदम विरुद्ध जाने निर्णय गरेको हो। पूर्वराजाको जन्मोत्सवमा मात्रै एक ठाउँमा देखिएका राप्रपाका नेताहरू अब बोलीले मात्रै राजा फर्काउने ठाउँमा पुगेका छन्। अर्थात राजावादीहरु फेरि ओख्खर जस्तै भएर फुटेका छन्।

राजावादी भावनाको उभारको यो बेलामा राप्रपाले आफ्नो एकताबाट फाइदा उठाउनुपर्ने थियो। तर पार्टी भित्रको आन्तरिक कलहले यो अवसरलाई नष्ट गर्न लागेको देखिन्छ। राजावादी शक्तिहरूको एकीकरण गरी राजनीतिक वैकल्पिक शक्ति बन्नुपर्ने बेलामा राप्रपा आफैं बिखण्डनको संकटमा फसेको छ।