मनसुनजन्य विपद् जोखिम न्यूनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको छः गृहमन्त्री लेखक
काठमाडौं। गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन्।
आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। उनले मनसुनजन्य विपद् जोखिम न्यूनिकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको बताए।
उनले गृह मन्त्रालय मातहत रहेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत बताए।
यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। विपद्का सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार र सामग्रीको भण्डारण, डोजर, स्काभेटर लगायतका हेभी इक्यूपमेन्ट तयारी अवस्थामा रहेको समेत बताइएको छ।
