२५ वर्षीया युवती आत्महत्या प्रकरण: पत्रकार खत्रीविरुद्ध जाहेरी

काठमाडौं । रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचार घर भएकी २५ वर्षीया युवती कोइली शाहीको मृत्यु घटनामा एक जना पत्रकार मुछिएका छन् । गाउँपालिकाकी कार्यालय सहायक पदमा कार्यरत शाहीको मृत्यु प्रकरणमा प्रेस चौतारी नेपाल रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री मुछिएका हुन् ।

शनिबार बिहान शाही कोठामा मृत भेटिएपछि उनका परिवारले शनिबारै साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा पत्रकार खत्रीमाथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएको हो । खत्रीले शाहीलाई फोन गरेर पटक–पटक तनाव दिने गरेको परिवारका सदस्यको आरोप छ । जाहेरी परेपछि पत्रकार खत्री भने फरार छन् ।

प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेका व्यक्तिको खोजी भइरहेको जानकारी दिए । मृतक शाहीको अन्त्येष्टि गरिसकिएको छ । तर पोष्टमार्टम रिपोर्ट भने आउन अझै केही दिन लाग्ने डीएसपी यादवले बताए ।