बजेट ल्याउन नसकेका २३ पालिका बने बेखर्ची
काठमाडौं। आर्थिक वर्ष सकिँदा पनि बजेट सार्वजनिक गर्न नसकेका २३ पालिकाले बेखर्ची भएका छन्।
असार १० गतेसम्म बजेट पेश गरी असार मसान्तसम्ममा पारित गरिसक्नुपर्नेमा हिजोसम्म ११ नगरपालिका र १२ गाउँपालिकाले बजेट सार्वजनिक गर्न नसकेका हुन्। ७३० स्थानीय तहले भने समयमै बजेट ल्याएका छन्।
नेपाल नगरपालिका महासंघका अनुसार सुनसरीको धरान उपमहानगरपालिकाले समयमै बजेट ल्याउन सकेन। यस्तै मधेश प्रदेशका १० पालिकाले बजेट ल्याएका छैनन्। अरु प्रदेशका सबै पालिकाले बजेट सार्वजनिक गरेका छन्।
गाउँपालिका महासंघका अनुसार कुल १२ मध्ये मधेशमा ८, बागमतिमा २ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷एक पालिकाले बजेट सार्वजनिक गरेका छैनन्।
समयमै बजेट पारित नगर्दा अब चालु आर्थिक वर्षमा विकास निर्माणका काम र अन्य प्रशासनिक खर्चहरू सञ्चालन गर्न कानुनी जटिलता सिर्जना भएको छ। उनीहरुले आजदेखि कुनैपनि खर्च गर्न पाउने छैनन्। तर, राजश्व उठाउन भने समस्या पर्ने छैन।
