शिक्षा ऐन जारी गर्न महासंघले दियो अल्टिमेटम
काठमाडौं । शिक्षक महासंघले विद्यालय शिक्षा ऐन २० दिनभित्र जारी गर्न सरकारलाई अल्टिमेटम दिएको छ । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी २१ साउनभित्र ऐन जारी गर्न समय दिएको हो ।
पत्रकार सम्मेलनपछि महासंघको जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सम्पन्न गरी विगतका सहमति समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरी कम्तीमा २१ साउन २०८२ अघि पारित गराउन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौं ।
ऐन जारी नगरी राज्यले धोका दिएर आन्दोलनतर्फ धकेल्न खोजेको महासंघले दाबी गरेको छ। अहिलेसम्मको समग्र अवस्था विश्लेषण गर्दा राज्यपक्ष फेरि नेपाली शिक्षक–कर्मचारीलाई धोका दिन र आन्दोलन तर्फ धकेल्न उद्दत रहेको प्रतीत हुन्छ। यो अवस्थाको यथाशीघ्र अन्त्य हुन जरुरी छ’ महांसंघले भनेको छ। २१ साउनभित्र विधेयक प्रतिनिधिसभाबाट पारित नभएमा सशक्त आन्दोलन गर्ने चेतावनी महासंघले दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘यो अवधिमा विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भई अघि नबढेमा वा नेपाल शिक्षक महासंघसँग भएका सहमति विपरीत प्रबन्ध गरी अघि बढेमा महासंघ विगतमा भन्दा कडा र सशक्त आन्दोलन गर्ने कुरा उद्घोष गर्दछ। आन्दोलनका कार्यक्रम यथासमयमा सार्वजनिक गरिनेछ।
विधेयक पारित नभएपछि आन्दोलन र त्यसबाट उत्पन्न हुने कठोर परिणामप्रति राज्यपक्ष नै जिम्मेवार हुने महासंघले जनाएको छ । २०७५, २०७८, २०८० र २०८१ सालमा भएको सम्झौता अनुसार ऐन जारी हुनुपर्ने माग महासंघको छ।
अन्तिम पटक गत २० चैतदेखि २९ दिन लामो शैक्षिक सडक आन्दोलन भएको थियो। र, १७ वैशाखमा १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । तर अहिलेसम्म पनि ऐन जारी नभएपछि महासंघ आक्रोशित भएको हो।
