विद्या भण्डारी एमाले राजनीतिमा फर्किनु जबजको मर्मविपरीत: डा.भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले राजनीतिमा फर्कनु ‘जनताको बहुदलीय जनवाद’को मर्मविपरीत भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै डा भट्टरारीले जबजको रक्षाका निम्ति पार्टीमा फर्कन लागेको भण्डारीको भनाइ आफैँमा जबज विरोधी भएको बताएका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले भनेका छन्, ‘जबजको रक्षानिम्ति पुरानो पार्टीमा फर्कन लागेको’ भन्ने पूर्वराष्ट्रपतिको मिडियामा आएको भनाइ सत्य हो भने त त्यो आफैमा ’जबज’को स्पिरिट विरोधी कुरा हुन्छ। उनले यसले एमालेको मात्र नभइ समग्र कम्युनिस्ट आन्दोलनको अग्रगामी रूपान्तरणमा अन्योल र संशय बढाउने दावी गरेका छन्।
पूर्वराष्ट्रपति नन्दबहादुर पुन माओवादी केन्द्रको राजनीतिमा फर्कँदा माओवादी रूपान्तरणमा योगदान भन्दा नोक्सान गर्ने पनि उनले बताएका छन् । राष्ट्रपति र पूर्वराष्ट्रपतिको पार्टीमा औचारक आबद्धता र क्रियाशिलताले सम्बन्धित पार्टीभित्र बहस र विवाद सिर्जना हुन गणतन्त्रको स्वास्थ्य, मर्यादा र दिगोपनका लागि गम्भीर विषय रहेको उनको भनाइ छ।
उनले भनेका छन्, ‘यो मुद्दा अब सम्बन्धित पार्टी र तीभित्रका गुट–उपगुटहरूको लाभहानी र चासोको विषय मात्र नरहेर देशको राष्ट्रिय हित, लोकतान्त्रिक गणतन्त्रको मर्म, हाम्रो शासकीय प्रणालीको चरित्र र नेपालका ’कम्युनिष्ट’ पार्टीहरूको वैचारिक–राजनीतिक प्रतिबद्धतासंग समेत जोडिएको सार्वजनिक महत्वको विषय बन्न पुगेको छ।
उनले राष्ट्रपति र उपराष्ट्रपति मातृ पार्टीमा कृयाशील हुन पाउने नपाउने विषयमा संविधानले केही नभनेका कारण यसलाई कानूनीभन्दा नैतिक, राजनीतिक र राष्ट्रिय हितको विषय भएको बताएका छन्।
उनले यस सन्दर्भमा भारतका राष्ट्रपतिहरूको उदाहरण समेत प्रस्तुत गरेका छन्। उनले लेखेका छन्,भारतका पहिलो राष्ट्रपति डा.राजेन्द्रप्रसाद स्वतन्त्रता आन्दोलनको बेला नेहरू, पटेल आदिकै हाराहारीका भारतीय कांग्रेसका बरिष्ठ नेता र ठूला विद्वान थिए तर अवकास पछि कुनै दलीय राजनीतिमा लागेनन्। पछिल्लो चरणका कांग्रेसका बरिष्ठ नेता प्रणव मूखर्जी पनि पार्टीमा फर्किएनन्। संसारभर यस्ता थुप्रै उदाहरणहरू छन्।
