केपी ओली आरजु राणालाई मुद्दा लगाउने तयारीमा छन्: उपमहासचिव पुन

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अन्य राजनीतिक दलका नेताहरूप्रति प्रतिशोधपूर्ण रवैया अपनाएको आरोप लगाएका छन्। गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा शनिवार राजधानीमा आयोजित पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओलीलाई निरङ्कुश, स्वेच्छाचारी र प्रतिशोधी प्रवृत्तिको नेताको संज्ञा दिए।

पुनले प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दामा फसाएर उनको पार्टी विभाजन गर्ने नियत राखेको दाबी गरे । यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर उनको पार्टीलाई नेकपा एमालेमा विलय गराउने ओलीको योजना रहेको बताए।

ओलीजीले विपक्षी नेताहरूलाई ठेगान लगाउने नाममा मुद्दा लगाएर पार्टी फुटाउने वा आफूमा गाभ्ने नीति लिनुभएको छ,पुनले भने, ‘लामिछानेलाई जेल हालेर रास्वपा फुटाउने, दुर्गा प्रसाईँ र रवीन्द्र मिश्रलाई थुन्ने, राजेन्द्र लिङदेनलाई आन्दोलन रोक्न दबाब दिने, माधव नेपाललाई मुद्दा लगाएर एकीकृत समाजवादी एमालेमा गाभ्ने र उपेन्द्र यादवको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने नियत ओलीको छ।

पुनले नेपाली कांग्रेसकी नेतृ आरजु राणामाथि पनि मुद्दा लगाउने तयारी भएको दाबी गरे । ‘कांग्रेस गठबन्धनबाट अलिकति चलायमान भएमा ओलीले आरजु राणालाई कुनै निहुँमा मुद्दा लगाउने तयारीमा हुनुहुन्छ,’उनले भने,’कांग्रेस नेतृत्वलाई तर्साउन उनले आरजु र उनका परिवारलाई निशाना बनाउने कुरा गर्नुभएको छ।

यसैगरी, भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको पुनको आरोप छ।

उनले एक वर्षअघि नै ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउने प्रयास गरेको दाबी गरे।

पुनले ओलीको एकाधिकारवादी र स्वेच्छाचारी प्रवृत्तिविरुद्ध आफूहरू लडिरहेको बताए । ‘हामी सबै एमालेको विरुद्धमा होइन, ओलीको झण्डामुनि रहेको दक्षिणपन्थी र एकाधिकारवादी समूहविरुद्ध लडिरहेका छौँ, उनले भने,माओवादीमा ओलीले जस्तो भाँडभैलो मच्चाउन सक्दैनन्, किनकि हामीले गल्ती गरेका छैनौँ ।पुनले ओली नेतृत्वको सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमा बितेको आरोप लगाए।