कुलिङ पिरियडमा काँग्रेस–एमाले भिडन्त,गठबन्धन टुट्नेसम्मका चेतावनी
रनसुर महतारा (रमेश)
काठमाडौं। संघीय निजामती सेवा विधेयकमा राखिएको दुई वर्षे कुलिङ पिरियडको प्रावधानलाई लिएर सत्ता गठबन्धनका मुख्य साझेदार नेपाली काँग्रेस र नेकपा एमालेबीच तीव्र मतभेद उत्पन्न भएको छ। यो मतभेदले गठबन्धनको भविष्यमा नै प्रश्नचिह्न खडा गरेको छ।
संसदीय समितिमा छलफलकै क्रममा एमालेका सांसदहरू कुलिङ पिरियडको विपक्षमा रहँदै आएका थिए। सत्तारूढ काँग्रेस र विपक्षी माओवादी केन्द्र भने कुलिङ पिरियड राख्नुपर्ने पक्षमा थिए। समितिबाट दुई वर्षे कुलिङ पिरियड राख्ने प्रावधानसहित विधेयक पास भएर प्रतिनिधिसभामा पेस हुँदासम्म मुख्यसचिव एकनारायण अर्याल र सचिवहरू उक्त कुलिङ पिरियड हटाउनुपर्ने भन्दै प्रमुख नेताहरूलाई रिझाउन दौडधुपमा देखिएका थिए।
यतिसम्म कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुहारेर समेत उनीहरूले कुलिङ पिरियड फिर्ता लिन माग गरेका थिए। प्रतिनिधिसभामा पेश भएपछि भने विधेयकमा कुलिङ पिरियड निष्क्रिय हुने खालको अर्थ लाग्ने बुँदा थपिएको पाइयो। यसकारण हंगामा मच्चिएपछि सरकारले त्यो चलखेलबारे छानबिन गर्न समिति नै गठन गरेको थियो।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले उक्त चलखेलबाट थप गरिएको बुँदा र शब्द सच्याएर कुलिङ पिरियडको प्रावधानसहित विधेयक पास गर्न राष्ट्रिय सभालाई आग्रह गरेको थियो। तर हाल आएर राष्ट्रिय सभामै एमाले सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै विधेयकमाथि संशोधन दर्ता गराएपछि यसले सत्ता गठबन्धनका दुई पार्टीबीच टकराव ल्याउने देखिएको छ।
काँग्रेसले आफू स्पष्टतः कुलिङ पिरियडको पक्षमा रहेको बताएको छ भने एमालेले संशोधन दर्ता गराएर कुलिङ पिरियड हटाउनुपर्ने पक्षमा आफू रहेको सन्देश दिएको छ। काँग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले कुलिङ पिरियडबारे संसदीय समितिबाट सर्वसम्मत भएको विषयमा काँग्रेसले कुनै कम्प्रमाइज गर्न नसक्ने बताएका छन्।
राष्ट्रिय सभामा रहेको विधेयकमा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनुपर्ने भन्दै गरेको संशोधनको विरुद्धमा काँग्रेस रहेको उनले बताए। काँग्रेसले कुलिङ पिरियडमा कम्प्रमाइज नगर्ने र कुलिङ पिरियड लागू हुनैपर्ने प्रवक्ता महतको भनाइ छ। भूमि विधेयक लगायत महत्त्वपूर्ण विषयहरूमा पनि एमालेले एकलौटी लाद्ने काम गरेको आरोप लगाउँदै यो स्वीकार्य हुन नसक्ने उनले बताए।
गठबन्धन टुट्ने चेतावनी
काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले त एमालेसँगको गठबन्धन टुट्नेसम्मको चेतावनी दिएका छन्। राष्ट्रिय सभामा राखेको ुकुलिङ अफ पिरियडुमाथिको संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउने भन्दै उनले प्रतिनिधिसभाबाट भएको गल्तीलाई राष्ट्रिय सभाबाट सच्याइनुपर्ने बताए।
कुलिङ पिरियडमा भएको चलखेलमा दोषीलाई कारवाही गर्न सर्वसम्मत रूपमा छानबिन समिति बनाएको स्मरण गराउँदै उनले सर्वसम्मत भएको निर्णयविरुद्ध एमालेले कुलिङ पिरियड हटाउन गरिरहेको प्रयासले दुर्घटना निम्त्याउने चेतावनी दिए। शर्माले गठबन्धनमा रहेका दलहरूबीचको फरक धारणा र फरक मतलाई सम्मान गर्न पनि प्रधानमन्त्री ओलीसँग आग्रह समेत गरेका छन्।
छानबिन समितिको काम
संघीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरूलाई राखेर अनुसन्धान अघि बढाएको जनाएको छ। समितिका संयोजक जीवन परियारले समितिको १८ औं बैठक बस्दासम्म छानबिनका क्रमहरू कसरी अघि बढाउने भन्नेबारेमा छलफलहरू भएको बताए, थप प्रगति भने हुन सकेको छैन।
यसरी एकातिर संसदीय समितिमै कुलिङ पिरियडमा भएको चलखेलबारे छानबिन चलिरहेछ भने अर्कोतिर एमालेले राष्ट्रिय सभामार्फत उक्त प्रावधान उठाउन खोजिरहेछ। काँग्रेसका अधिकांश नेता तथा सांसद एमाले नेतृत्वको गठबन्धन सरकारसँग असन्तुष्ट रहेका बेला कुलिङ पिरियड काण्डले गठबन्धनमा थप दरार पैदा गर्नसक्ने देखिएको छ।
यो विषयले नेपालको राजनीतिक स्थिरतामा नकारात्मक प्रभाव पार्न सक्छ। कुलिङ पिरियडको विषय अब केवल निजामती सेवासँग मात्र सीमित नरहेर यसले गठबन्धनको भविष्यलाई नै प्रभावित पार्ने देखिएको छ।
