मलाई कार्यक्षेत्र नदिए पार्टीमा लामो समय बस्न सक्दिनँ होला: नेता गौतम

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले पार्टीले काम दिन नसके पार्टीमा आफू लामो समयसम्म बस्न नसक्ने घोषणा गरेका छन्।

बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन्। उनले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गरे।

उनले काम दिनको निम्ति कुन पद सिर्जना गर्नुपर्छ भन्ने सोचेर कामसहितको पद सिर्जना गरी जिम्मेवारी दिन आग्रह गरे। उनले काम बिनाको पद आफूलाई नचाहिने भन्दै काम नदिएदेखि लामो समयसम्म आफू पार्टीमा बस्न नसक्ने बताए।

वरिष्ठ नेता गौतमले नेपालमा संविधानमा लेखेको समाजवाद निर्माण गरेर संसारका सबैभन्दा विकसित समाजमा पुर्‍याउनुपर्ने बताए।