सर्वोच्च व्यक्ति वडाध्यक्ष बन्न हुँदैन: सांसद खतिवडा
काठमाडौं। नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन नहुने धारणा राखेका छन्।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा बोल्दै सांसद खतिवडाले सर्वोच्च पदमा पुगेको व्यक्तिले त्यो पदको गरिमा छोडेर वडाध्यक्ष बन्न तम्सिन नहुने बताएका छन्।
उनले सर्वोच्च पदमा पुगेको व्यक्ति फेरि सक्रिय राजनीतिमा फर्किने कुरा नसुहाउने भन्दै सरकारको ध्यान पुग्न जरुरी रहेको बताए। उनले खानेपानीमन्त्री प्रदीप यादव विगत एक महिनादेखि हराएको भन्दै कटाक्ष पनि गरे।
सांसद खतिवडाले मधेशमा खानेपानीको हाहाकार हुँदा समेत मन्त्रीले जिम्मेवारी वहन गर्न नसकेको बताए।
खतिवडाले भने, ‘मधेशमा खानेपानीको हाहाकार छ। मान्छेहरू गाग्री लिएर मान्छेहरू सडकमा आउने स्थिति सिर्जना भयो। संघीय संसद्मा खानेपानी मन्त्री र मन्त्रालय पनि छ भन्ने जानकारी छ। एक महिनादेखि मन्त्री हराएको सूचना प्राप्त भयो। देखा पर्न सक्नु भएको छैन।
अहिले सर्वोच्च पदमा पुगेका मान्छेहरू आफ्नो गरिमा छोडेर वडाध्यक्षतिर ध्यान दिएको देख्न आएको छ। सरकारको ध्यान पुगोस्। सर्वोच्च पदमा पुगेको मान्छे फेरि वडाध्यक्ष हुनु हुँदैन।’
मन्त्री यादवलाई मधेशको खानेपानीको अवस्थाबारे संसद्लाई जानकारी गराउन रुलिङ गर्न सभामुखसँग माग गरे।

