क्याबिनेटमै भ्रष्टाचार आरोपित, ओलीको दाबी-‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध कडा अडान रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा सांसद महेन्द्रबहादुर शाहीको प्रश्नको जवाफ दिँदै उनले भने, “म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ भन्ने राष्ट्रिय संकल्पमा हामी दृढ छौँ।

तर, ओलीकै मन्त्रिपरिषद्का सदस्य बलराम अधिकारीमाथि पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा सेटिङमा घूस लिएको गम्भीर आरोप लागेको छ । सार्वजनिक भएको अडियोमा उनले ३२ लाख रुपैयाँ घूस लिएको दाबी गरिएको छ।

अडियोमा बिचौलिया सुजन लामामार्फत मन्त्री अधिकारीले मन्त्री क्वार्टरमै घूस लिएको उल्लेख छ । अडियोमा मन्त्री अधिकारीका छोरा मनोज, तत्कालीन भूमि व्यवस्था मन्त्रालयका सचिव अर्जुन पोखरेल र अन्य व्यक्तिहरूको संलग्नताको दाबी गरिएको छ ।

लामाले तत्कालीन सचिव पोखरेलले ५ लाख र मन्त्री अधिकारीले जेब्रा झोलामा ३२ लाख रुपैयाँ लिएको बताएका छन् । मालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारीमार्फत यो रकम बुझाइएको र मनोजले यसको पुष्टि गरेको लामाको भनाइ अडियोमा छ।

अडियोमा लामाले मन्त्री अधिकारी, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, सचिव पोखरेललगायतका लागि डेढ करोड खर्च भएको दाबी गरेका छन् ।

यो प्रकरणमा मालपोत कार्यालयका प्रमुख रामचन्द्रलाई कास्कीबाट लमजुङ सरुवा गरिएको थियो । न्युजिल्यान्डमा बस्ने मनोज हाल नेपालमै रहेको र उनले आफ्ना बुबा मन्त्री भएपछि घूसको सेटिङमा संलग्न भएको आरोप छ।

बिचौलिया समूहले मन्त्री अधिकारी र मनोजलाई प्रभावमा पारी मालपोत कार्यालयका प्रमुखको सरुवा गरेको दाबी पनि अडियोमा छ।

यो प्रकरणमा तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता, बिचौलिया लामा र सांसद रञ्जिता श्रेष्ठको बयान र भ्वाइस टेस्ट लिइसकेको छ।