४२ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, टेन्डर आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्नका लागि टेन्डर आह्वान गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै ५० रुपैयाँ दरका ४२ करोड थान नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको जानकारी दिएको हो।

बैंकले पूर्वयोग्यता सेक्युरिटी प्रिन्टरहरूबाट बोलपत्र मागेको छ। अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रिया मार्फत नोटको डिजाइन, छपाइ, आपूर्ति तथा डेलिभरीका लागि यो ठेक्का खुलाइएको हो।

इच्छुक पूर्वयोग्य सूचीमा रहेका कम्पनीहरूले सन् २०२५ सेप्टेम्बर ८ को दिउँसो १२ बजेभित्र आफ्नो बोलपत्र राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बुझाइसक्नु पर्ने सूचनामा उल्लेख छ । बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने छ।

यसअघि अगस्ट १७ मा प्रि–बिड बैठक आयोजना गरिनेछ । बोलपत्रमा सहभागी हुन चाहने कम्पनीले २० हजार नेपाली रुपैयाँ वा (१४६ अमेरिकी डलर, १२६ युरो, १०९ पाउन्ड स्टर्लिङ) तिरेर बोलपत्र फारम खरिद गर्न सक्नेछन्। साथै, बोलपत्र पेस गर्दा न्यूनतम ४ करोड रुपैयाँ बराबरको बिड सेक्युरिटी पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।