संकटमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी,वामदेव र रामकुमारीको पार्टी छोड्ने धम्की

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको राजनीतिक जीवन संकटकाे अवस्थामा पुगेको छ। पार्टी विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका नेपाल आज आफ्नै पार्टीमा अलगलगै भएर बसेका छन्। पतञ्जली जग्गा हिनामिना प्रकरणमा संसद सदस्यताबाट बञ्चित भएका नेपालको राजनीतिक भविष्य अब धमिलो देखिन थालेको छ।

एकीकृत समाजवादी गठनाको साढे तीन वर्षपछि पार्टी आज विघटनको संगारमा पुगेको छ। दिनहुँ नेता र कार्यकर्ताहरू एमालेमा फर्किरहेको अवस्थामा पार्टीमा बाँकी रहेकाहरू नै अब नेतृत्वविरुद्ध खडा भएका छन्। यही सन्दर्भमा पार्टीकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष नेपाललाई मरेको सिनोकाे संज्ञा दिँदै अर्ली महाअधिवेशनको माग गरेकी थिन।

झाँक्रीको यो अभिव्यक्तिले पार्टीमा हलचल मच्चाएको छ। उनले लुम्बिनी प्रदेशको युवा संघ भेलामा माधवमाथि चर्को आक्रोश व्यक्त गर्दै पार्टीमा उनको विकल्प खोजिनुपर्ने बताएकी थिइन्। यो केवल व्यक्तिगत असन्तुष्टि मात्र नभएर पार्टीमा बढ्दो आन्तरिक असहमतिको प्रतिबिम्ब हो।

पार्टीले झाँक्रीलाई पटक-पटक स्पष्टीकरण सोधे पनि उनले यसलाई बेवास्ता गरेकी छिन्। केन्द्रीय अनुशासन आयोगको तीन दिने अल्टिमेटमदेखि सचिवालयको सात दिने म्यादसम्म झाँक्रीले उपेक्षा गरिरहेकी छिन्। यसले पार्टीको अनुशासनीय संयन्त्र नै कमजोर भएको संकेत दिन्छ।

यसैबीच भर्खरै पार्टी प्रवेश गरेका बामदेव गौतमको असन्तुष्टिले माधवको समस्या झनै बढाएको छ। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक रहेका गौतमलाई तेस्रो वरियतामा राखेर पार्टीमा भित्र्याइएको थियो। तर उनी एक साता नबित्दै पार्टी नेतृत्वमाथि असन्तुष्ति जनाउन थालेका छन्।

गौतमले आफूलाई उचित जिम्मेवारी नदिए पार्टीमा धेरै बस्न नसक्ने चेतावनी दिएका छन्। उनको भनाइ अनुसार, पदका लागि मात्र पद सृजना गर्ने काम नेकपा एसले गर्नु हुँदैन। यो अभिव्यक्तिले माधवलाई थप दबाबमा पारेको छ किनकि गौतमको आगमनले पार्टी सबल हुने अपेक्षा थियो।

नेकपा एसको संकट केवल नेतृत्वमा सीमित छैन। २०७९ सालको निर्वाचनमा पार्टीले राष्ट्रिय दलको मापदण्ड पूरा गर्न सकेन। प्रत्यक्षतर्फ मात्र १० सिट जितेर संसदमा पुगेको पार्टी अहिले समानुपातिकबाट आएका सांसदहरूमा पनि समस्या देखिएको छ। माधव नेपाल आफैं संसद सदस्यताबाट बञ्चित भएपछि पार्टीको मनोबल झनै घटेको छ।

यस्तो अवस्थामा माधव नेपालले एकताको पहल गर्दै माओवादी केन्द्रदेखि विप्लव नेकपासम्मसँग वार्ता जारी राखेका छन्। उनको यो रणनीति पार्टी अस्तित्व जोगाउनको लागि अपनाइएको अन्तिम विकल्प मानिन्छ। तर यी दलहरूसँगको एकताका लागि विभिन्न शर्तहरू छन् जसले प्रक्रियालाई जटिल बनाएको छ।

माधव नेपालको वर्तमान अवस्था उनको राजनीतिक जीवनकै सबैभन्दा कठिन परीक्षा हो। एमालेबाट निस्किएर आफ्नै पार्टी बनाएका नेपालले अब त्यही पार्टीमा आफूविरुद्ध विद्रोह देखिरहेका छन्। यसले उनको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ।

पार्टीमा संगठनात्मक संरचना कमजोर छ भने वैचारिक स्पष्टता पनि छैन। यसका कारण एकीकृत समाजवादी अन्य दलहरूसँग प्रतिस्पर्धा गर्न असमर्थ देखिएको छ। नेताहरूको निरन्तर पलायनले पार्टीलाई संगठनात्मक रूपमा खोक्रो बनाइरहेको छ।

माधव नेपाल भने यी सबै समस्याका बावजुद हार नमान्ने भनिरहेका छन्। उनले कम्युनिस्ट आन्दोलनको भविष्य समाप्त नभएको र पार्टीमा समस्या आउँदैमा डराउनुपर्ने अवस्था नरहेको भनिरहेका छन्। तर राजनीतिक वास्तविकता यो छ कि उनको पार्टी दिनानुदिन कमजोर हुँदै गइरहेको छ।

नेकपा एकीकृत समाजवादीको भविष्य अब माधव नेपालको राजनीतिक रणनीतिमा भर पर्दछ। यदि उनले आन्तरिक समस्याहरूको समाधान गर्न सकेनन् र एकताको पहललाई सफल बनाउन सकेनन् भने पार्टीको अस्तित्व नै संकटमा पर्न सक्छ। यो माधव नेपालको राजनीतिक जीवनको निर्णायक मोड हो जसले उनको भविष्य र नेपाली कम्युनिस्ट आन्दोलनको दिशा निर्धारण गर्ने देखिएकाे छ।