पूर्वराष्ट्रपति भण्डारीले भनिन्न-मलाई कुनै पदको लालसा छैन
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको निर्णयप्रति असहमति जनाउँदै पत्रकार सम्मेलन आयोजना गरेकी छिन्। काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको भिड लागेको छ ।
यसैसाता (सोमबार) सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा प्रवेश नदिने भन्दै सदस्यता नै निलम्बनमा राख्ने निर्णय गरेको थियो । तर सक्रिय राजनीतिमा फर्कन आफूलाई कसैले नरोक्ने भण्डारीले बताउँदै आएकी छिन्।
एमालेले पार्टी सदस्यता नदिने निर्णय गरे पनि भण्डारीले पत्रकार सम्मेलनमा नेकपा (एमाले) जिन्दावाद लेखेको सूर्य चिह्न अङ्कित ब्यानर प्रयोग गरेकी छिन्।
त्यस्तै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्त्वाकाङ्क्षा र आशक्ति नभएको बताएकी छिन्। शुक्रवार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले अब पदको कुनै आशक्ति नभएको तर्क गरेकी हुन्।
‘कुनै पदप्रति लालसा, महत्त्वाकाङ्क्षा र आशक्ति छैन। किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ उनले भनिन। साथै, उनले आफू राजनीतिमा आएर देश र जनताको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रह गरेकी छिन्।
