बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रवार राजीनामा दिएका छन् । राजीनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सामेल छन् । तीमध्ये चार जनाले राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए । कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने पहलस्वरुप चार मन्त्रीले राजीनामा दिएका जनाइएको छ ।

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् । यसका लागि ३७ सांसद रहेको कांग्रेस संसदीय दलमा संसदीय दलको नेता फेर्ने पक्षमा २४ जना रहेको बताइएको छ । यद्यपि, पत्रमा भने २१ जनाले मात्र हस्ताक्षर गरेका छन्।