भण्डारी-ओली भिडन्तले एमालेमा आन्तरिक शक्ति संघर्ष, ओलीमाथि संकट
रनसुर महतारा (रमेश)
काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको घोषणाले नेकपा एमालेमा गहिरो राजनीतिक संकट सिर्जना गरेको छ। पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति भण्डारीबीचको बढ्दो तनावले एमालेको एकताका लागि नयाँ चुनौती खडा गरेको छ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर पार्टी नेतृत्व लिने मनसाय व्यक्त गरेपछि अध्यक्ष ओली उनलाई रोक्ने रणनीतिमा लागेका थिए। त्यसपछि आयोजित केन्द्रीय कमिटी र पोलिटब्युरो बैठकहरूबाट ओलीले भण्डारीको राजनीतिक सक्रियतामा रोक लगाउने निर्णय गराएका थिए।
गत मंगलबार सम्पन्न केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताविरुद्ध औपचारिक निर्णय गरेको थियो। तर पार्टीको यो निर्णयले भण्डारीलाई रोक्न सकेन। उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर पार्टीको निर्णयको कडा विरोध गरिन्।
पत्रकार सम्मेलनमा भण्डारीले अध्यक्ष ओलीलाई प्रत्यक्ष चुनौती दिँदै भनिन्,मुठीभरका मानिसहरूले हुलहुज्जत गरेर ४५ वर्षअघि मदन भण्डारीले दिएको पार्टी सदस्यता खोस्न सक्दैनन्। उनले आफूलाई रोक्ने पार्टीको निर्णयलाई संविधानप्रदत्त मौलिक हकको विपरीत भएको भन्दै कडा आपत्ति जनाइन्।
राष्ट्रपतिबाट म नागरिक भइसकेको व्यक्ति हुँ। मेरो सदस्यता कसैले खोस्न मिल्दैन,भण्डारीले दृढताका साथ भनिन्। उनको यो अडानले एमाले पार्टीभित्र नयाँ ध्रुवीकरणको सम्भावना बढाएको छ।
पूर्वराष्ट्रपति भण्डारीको बढ्दो सक्रियताबाट चिन्तित अध्यक्ष ओली पछिल्ला दिनहरूमा निरन्तर रणनीतिक छलफलमा व्यस्त छन्। उनले पार्टी केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा बोलाएर व्यापक छलफल गरिरहेका छन्। ओलीको मुख्य उद्देश्य केन्द्रीय सदस्यहरूलाई अभिमुखीकरण गर्नु र पार्टीभित्र ध्रुवीकरण हुन नदिनु रहेको छ।
यसैक्रममा शनिबार साँझ प्रधानमन्त्री ओलीले सुदूरपश्चिम र कर्णाली प्रदेशका केन्द्रीय सदस्यहरूसँग लामो छलफल गरे। छलफलका क्रममा ओलीले पूर्वराष्ट्रपति भण्डारीले आफूसँग कुनै सल्लाह नगरी एकाएक पार्टीमा सक्रिय हुने घोषणा गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए।
छलफलमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओलीले भने, उहाँलाई पार्टीले निर्णय गरेर राष्ट्रपतिमा पठाएको हो। त्यहाँबाट फर्किएपछि उहाँले पार्टीमा फर्कनेबारे कुनै सरसल्लाह गर्नुभएन। पार्टी कार्यालय पनि आउनुभएन। एकैचोटी पार्टीमा फर्कने घोषणा पो गर्नुभयो।
ओलीका अनुसार भण्डारीले पार्टी सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्कनमात्र नखोजेर त्यसभन्दा माथिको उद्देश्य राखेको देखिएको छ। उनले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्कनुलाई अनुचित मानेको बताएका छन्।
अध्यक्ष ओलीले विधानको धारा ८ अनुसार सदस्यता त्याग गरेकाले भण्डारीले फर्कने नै हो भने नयाँ सदस्यता लिनुपर्ने तर्क गरेका छन्। यो तर्क उनले यसअघि पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकमा पनि राखेका थिए।
केन्द्रीय सदस्यहरूसँगको भेटमा ओलीले आफूले पूर्वराष्ट्रपति भण्डारीको व्यक्तिगत आलोचना नगरेको स्पष्ट पारे। उनले भने,मैले कहिल्यै उहाँको आलोचना गरेको छैन। गर्न पनि मन छैन। राष्ट्रपति हुँदा राम्रै कार्यसम्पादन गर्नुभएको हो। पार्टीमा फर्कन मिल्दैन भन्ने पार्टीको कुरा हो।
तर भण्डारीले पत्रकार सम्मेलनमा हुलहुज्जत गरेर मेरो सदस्यता खोस्ने काम भयो भनेकाप्रति ओलीले आपत्ति जनाएको ती केन्द्रीय सदस्यले बताए। ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले भने,केन्द्रीय कमिटीले गरेको निर्णय हो। उहाँले पार्टीको सदस्यता त्याग गरेको हो। त्यागेको सदस्यता नवीकरण हुँदैन। कि नयाँ लिनुपर्छ, कि राजनीतिक निर्णय हुनुपर्छ।
अध्यक्ष ओलीले वर्तमान विवादलाई सामान्यीकरण गर्ने प्रयास गर्दै भनेका छन् कि पार्टी निर्माणको इतिहासमा ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो घटना सानो हावाको झोक्का मात्र हो। उनले भने,सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरूको संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं। अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो। सामान्य रूपमा समाधान हुन्छ।
यद्यपि ओलीले यसलाई सामान्य घटना भन्ने प्रयास गरे पनि पार्टीभित्रका स्रोतहरूका अनुसार यो विवादले एमालेमा ठूलाे प्रभाव पारेको छ। पूर्वराष्ट्रपति भण्डारीको लोकप्रियता र राजनीतिक पहुँचले पार्टीभित्र नयाँ समीकरण सिर्जना गर्ने सम्भावना बढेको छ।
यो विवादले नेपाली राजनीतिमा राष्ट्रपति पदबाट निवृत्त व्यक्तिको राजनीतिक भूमिका, पार्टी विधानको व्याख्या र संविधानप्रदत्त अधिकारको प्रश्न उठाएको छ। पार्टी एकताका लागि यो संकटको समाधान कसरी हुन्छ, त्यसले एमालेको भविष्य निर्धारण गर्ने देखिएको छ।
