कांग्रेस महाधिवेशन २०८३ को मङ्सिरअघि हुन्छ: नेता सिटौला
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरसम्म भइसक्ने बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिटौलाले ४ वर्षे कार्यकाल आगामी मङ्सिरमा सकिने र एक वर्ष थप्न सकिने प्रावधानअनुसार अघि बढ्ने देखिएको बताए।
सिटौलाले कांग्रेस महाधिवेशन चार वर्षमा कहिल्यै नभएको भन्दै २०८३ को दसैँको सेरोफेरोमा हुने बताए। उनले भने, ‘कांग्रेसको महाधिवेशन आजसम्म चार वर्षमा कहिल्यै भएको छैन। चार वर्षको कार्यकाल हो, एक वर्ष म्याद थप्न पाइन्छ।
साथै उनले कांग्रेसमा अहिलेसम्म क्रियाशील सदस्य नवीकरण नटुंगिएको जानकारी दिए। क्रियाशील सदस्य नवीकरण असोज मसान्तमा टुंग्याउने भएपछि मङ्सिरमा महाधिवेशन सम्भव नरहेको बताए। सिटौलाले महाधिवेशन २०८३ को मंसिरभन्दा पछाडि भने लैजान नहुने बताए।
