अधिकारको दुरुपयोग नै बेरुजुको जड हो: सांसद शर्मा
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले प्रणालीगत कमजोरी र राज्य संयन्त्रमा बस्नेहरूले अधिकार दुरुपयोग गर्दा अत्यधिक बेरुजु बढेको बताएका छन्।
आइतवार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन्। कुनैपनि निकायलाई संविधानले दिएको अधिकारको सदुपयोग नहुनु नै बेरुजु भएको उनको तर्क छ।
सांसद शर्माले बेरुजुका कारणमा समयमै हिसाब मिलान नहुनु, कर्जा असुली नहुनु,कानूनी व्यवस्थाको कमजोरी र व्यवहारगत अनुशासन अभाव प्रमुख रहेको बताए। उनले आर्थिक अनियमितता,भ्रष्टाचार र बेरुजुको समस्या समग्र राज्य प्रणालीको कमजोरीको परिणाम भएको उल्लेख गरे।
शर्माले भने, ‘कुनैपनि निकायलाई संविधानले दिएको अधिकार सदुपयोग नहुनु नै बेरुजु हुनु हो। समस्या त्यहीँ छ। समग्र राज्यको चित्र र चरित्र कस्तो छ?हाम्रो राजनीतिक संस्कार कस्तो छ ? दूरदृष्टि कस्तो छ। उनले आर्थिक सुशासन कायम गर्ने सवालमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए।
