हाम्रो मझेरी प्रतिष्ठानद्वारा शर्माका चार साहित्यिक कृति एकैसाथ लोकार्पण
प्रेम प्रसाद कडेल
चितवन। हाम्रो मझेरी साहित्य प्रतिष्ठानको आयोजनामा कवि आख्यानकार हिरामणि शर्माको चार कृतिहरू विमोचन कार्यक्रम भरतपुरको फोर सिजन पार्टी प्यालेसमा सम्पन्न भएको छ। लोकार्पण कृतिहरूमा मनविरेका सपनाहरु कथा संग्रह, परिणति उपन्यास, स्वाभिमान मुक्तक संग्रह एवम् माटो र मुटु कविता संग्रह रहेका छन्। कार्यक्रममा कृतिकार हिरामणि शर्मा र उहाँकी जिवनसाथी विनिता शर्मा मुख्य आकर्षणको केन्द्र रहेको थिए।
कार्यक्रममा उद्घोषण हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जली र सभापतित्व ईन्दिरा अञ्जलीले गरेकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि प्रसिद्ध महाकाव्यकार मुना अर्याल रहनुभएको थियो। उहाँले हिरामणि शर्माका सिर्जनाहरूले नेपाली साहित्यमा सामाजिक यथार्थ, अन्तरद्वन्द्व र व्यक्तित्व चेतनालाई अत्यन्त गहिरो रूपमा उठान गरेको चर्चा गर्नुभयो।
उहाँका अनुसार यी कृतिहरू केवल लेखकीय उत्पादन होइनन्, समाजको सोच, समयको प्रतिबिम्ब र पाठकको आत्मासँग संवाद गर्ने सशक्त अभिव्यक्ति हुन्।
साहित्यिक दृश्यमा निरन्तर क्रियाशील रहँदै आउनुभएका हिरामणी शर्माले प्रत्येक वर्ष कम्तिमा एक नयाँ कृति प्रकाशन गर्ने घोषणा पनि कार्यक्रममा गर्नुभयो। जसले उहाँको प्रतिबद्धता र साहित्यप्रतिको समर्पणलाई अझ प्रस्ट रूपमा उजागर गर्यो। कार्यक्रममा क्षेत्रीय तथा राष्ट्रिय स्तरका लेखक, कवि, समीक्षक, पत्रकार र साहित्य–अनुरागीहरूको उल्लेख्य उपस्थिति थियो।
उनीहरूले हिरामणी शर्माका नवीन कृतिहरूको भाव, भाषा र विषयवस्तुको गहनताको प्रशंसा गर्दै उहाँको लेखन कलालाई समकालीन साहित्यमा एक महत्वपूर्ण स्वरूपको रूपमा चित्रण गर्छन्।
हाम्रो मझेरी साहित्य प्रतिष्ठानले यस्ता सिर्जनात्मक कार्यक्रमहरू भविष्यमा निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता जनाएको छ। समग्रमा,कार्यक्रमले सिर्जनशीलताको उत्सव मनाएजस्तै नेपाली साहित्यको समृद्ध भविष्यप्रति गहिरो आशा र आत्मबलको पुनः संचार गरायो।
सो कार्यक्रममा चितवनका प्रख्यात स्रष्टाहरु गजल बिशेषज्ञ केशवराज आमोदी ,भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्र रेग्मी , कवि पोषराज पौडेल, विष्णु तिवारी उषा, बिदुर अधिकारी , साहित्य संगम चितवनका अध्यक्ष प्रकाश चापागाई, राजेन्द्र घायल, सुर्यमणि रेग्मी , मातृभूमि साहित्य समाजका सँस्थापक अध्यक्ष हयग्रीव आचार्य , माधव पोख्रेल, मिथिला अधिकारी, बिश्वबन्धु रेग्मी काठमाडौं , गुणाखर सापकोटा पोखरा, रत्ननगर प्रज्ञा प्रतिष्ठानका कमल अर्याल ,समिता पौडेल न्यौपाने,राजु आचार्य दीप, सीता अधिकारी, हरिराम रेग्मी , विनिता शर्मा, नारायणी पव्लिक कलेजका निर्देशक अनिता खनाल ,कलेजका कोअर्डिनेटर जनकराज घिमिरे, समिक्षक किसान प्रेमी, लकाश पौडेल लगायत तीन दर्जन स्रष्टाहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो। कवि हिरामणि शर्माका दुई छोराहरु सन्देश र सन्दिपले पनि विदेशबाट शुभकामना सन्देश दिएका थिए।
मनविरेका सपनाहरु’ कथामार्फत जीवनका लुकेका मनोभाव र द्वन्द्वलाई सजीव चित्रण गरिएको छ भने ‘परिणति’ उपन्यासले विशेषगरी नारी स्वाभिमान, पारिवारिक जटिलता र सामाजिक संरचनाबीचको द्वन्द्वलाई उजागर गर्छ।
‘स्वाभिमान’ मुक्तक सङ्ग्रहले आत्म–चेतना, समाजप्रतिको दृष्टिकोण र जीवनका सघर्षपूर्ण पक्षहरूलाई मार्मिक ढंगले प्रस्तुत गर्दछ।
पुनःलोकार्पित ‘माटो र मुटु’ कविता सङ्ग्रह नयाँ पुस्ताका पाठकलाई समर्पित उद्देश्यका साथ पुनः सार्वजनिक गरिएको हो, जुन पाठकले गहिरो अर्थका साथ पुनः अनुभव गर्न पाउनेछन्। कार्यक्रममा चितवन नवलपरासीका प्रबुद्ध साहित्यकार एवम् साहित्यिक संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
