मनसुनी वायुको प्रभाव: आज तीन प्रदेशमा भारी वर्षा हुने
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित छ ।
जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

