जनकपुरमा खुकुरी प्रहार गरेर बालिकाको हत्या,दुई गम्भीर घाइते

काठमाडौं । जनकपुरमा एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १५ वर्षीया बालिकाको मृत्यु भएको छ। गएराति जनकपुर–४ स्थित स्वर्गीय सूर्यनन्द चौधरीको घरमा भाडामा बस्दै आएका धनुषा क्षीरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १५ वर्षकी अञ्जलीकुमारी यादवको मृत्यु भएको हो।

सोमबार राति करिब साढे ११ बजे धारिलो खुकुरी प्रहारबाट धनुषाको बटेश्वर गाउँपालिका– ५ शान्तिपुरका दिनेश यादवकी छोरी अञ्जलीकुमारीको मृत्यु भएको मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिए ।

त्यस्तै खुकुरी प्रहारबाट अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते छन् । खुकुरी प्रहारबाट आशाको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ भने राधाको दाहिने घुँडा र दाहिने हात काटिएको छ । घाइते दुबै जनाको जनकपुर प्रादेशिक अस्पतालमा उपचाार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि साह फरार छन्। उनी आफ्नै श्रीमतीको हत्या अभियोगमा ५ वर्ष जेल सजाय काटिसकेका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।