काँग्रेसको आन्तरिक युद्ध चुलियो: देउवासँग ‘वार कि पार’को लडाइँमा कोइराला

काठमाडौं। गठबन्धनमा लामो समयदेखि असन्तुष्ट रहेका प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सत्तामा भए पनि सरकारमा रहेको अनुभूति नभएको बताउँदै आएका छन् । पार्टी सरकारमा हुनुले जनतामा खास फरक नपरेको बताउदै पार्टी सत्तामा भएपनि सरकारमा नभएको बताउने गरेका हुन्।

यसमा नेता कोइरालाको आफ्नै ‘लजिक’ छ।हाम्रो प्रतिस्पर्धी कुनै पनि ठाउँमा एमाले हुन्छ। हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौँ। त्यसैले कहीँ यो सरकार गलत गरिरहेको छ कि भनेर हामीले खबरदारी गरिराख्नुपर्छ। हामीले खबरदारी गरेनौँ भने कांग्रेसलाई अफ्ठ्यारोमा पर्न सक्छ। त्यसैले हामी सत्तामा छौँ तर, सरकारमा छैनौँ, उनले बेलाबखत भन्ने गरेका छन्।

कोइरालाले अर्को चिन्ता पनि व्यक्त गर्दै आएका छन्। उनलाई डर छ कि एमालेसँगको सत्ता सहकार्यले कांग्रेस एमालेकरण भइरहेको छ। त्यसो त कोइराला जतिबेला कांग्रेस–एमालेबीच सत्ता सहकार्यको समझदारी बन्यो, त्यतिबेलै पनि खुसी थिएनन्। समझदारीअनुसार कांग्रेस–एमालेको सरकार बनेयता नै कोइरालाले सरकारप्रति आलोचनाका भाषाहरू बोल्दै आएका छन्।

तर, कांग्रेस–एमाले गठबन्धनको एक वर्षसम्म आइपुग्दा कोइराला गठबन्धन ‘ब्रेक’को मनस्थितिसम्म पुगेपनि संस्थापन कांग्रेस हल्लिएको छैन । पछिल्लो समय उनी पार्टीभित्रको आफ्नो समूहका नेताहरूसँग मात्रै होइन, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग त्यति खुसी नरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्दै आएका छन्।

यी भेटवार्ताहरूमा कोइरालाले सरकारप्रति आलोचना गर्दै गठबन्धन ‘ब्रेक’ गर्दा के हुन्छ भन्ने प्रश्नको जवाफ खोजिरहेका भए पनि अंकगणित कमजोर भएकाले उनले त्यसको उत्तर पाइसकेका छैनन। विद्या भण्डारी र प्रचण्डसँग कोइरालाले के कुरा गरे, त्यसको यथार्थता बाहिरिएको छैन।

भण्डारी भने पछिल्लो समय पार्टीभित्रको किचलोमा रुमलिएकी छिन्। प्रचण्ड पनि जनार्दन शर्मासँग जुहारी खेलिरहेका छन् । कोइरालाले भण्डारी र प्रचण्डलाई भेटेर आएपछि आफूनिकट सांसदहरूसँगको बैठकमा अहिल्यै गठबन्धन ‘ब्रेक’ गर्दा के हुन्छ भन्नेबारे छलफल गरेका थिए । तर सांसदहरुले स्पष्ट जवाफदिन सकेका थिएनन।

सभापति शेरबहादुर देउवाले पार्टीलाई ‘प्राइभेट कम्पनी’ बनाएको आरोप लगाउदै आएका कोइरालाले अब त्यसप्रति ‘लोयल’ नहुने चेतावनीयुक्त सन्देश दिएका छन् । प्रादेशिक सरकारहरूमा कोइराला पक्षका सांसदहरू नभएको पनि असन्तुष्ट रहेका उनले अझै एक वर्ष एमाले नेतृत्वको सरकारलाई दबाबमा राख्ने संकेत गरे । कोशी प्रदेशमा कोइरालाको सांसदहरूले सम्मानजनक उपस्थिति खोजिरहेका छन् ।

त्यसो त कोइरालाले आफूपक्षीय मन्त्रीहरूलाई फिर्ता बोलाउनेबारे पनि छलफल थालेका छन् । तर फिर्ता बोलाई हाल्न सकेका छैनन । संघीय तथा प्रादेशिक सरकारहरूमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउनेबारे पनि छलफल चलिरहेको एक नेताले बताए । ‘मन्त्री फिर्ता बोलाउने निर्णय भइसकेको होइन तर, त्यसरी पनि छलफल सुरु भएको छ, ती नेताले दृष्टिसँग भने ।

मन्त्री फिर्ता बोलाएपछि भने गठबन्धन फुट्न सक्ने ती नेताको भनाइ छ तर, त्यो खाली छलफलको क्रममा रहेको उनले दोहो¥याए । कोइरालाको यो सक्रियताका प्रति संस्थापन पक्षले चासो देखाएको छ । कोइरालाको दौडधुपलाई ध्यान दिएका नेताहरुले चाक्सीबारीमा जुटेर छलफल गरेका थिए । त्यसपछि उनीहरुसहित संस्थापन पक्षका नेताहरूले पनि यसबारे छलफल गरेका छन् । उनीहरूले यसबारे पार्टी सभापति शेरबहादुर देउवासँग पनि संबाद गरेका थिए।

चाक्सीबारीको भेलामा गठबन्धन २०८४ सम्म नै जानुपर्ने निष्कर्षसमेत निकालिएको छ तर, त्यसका लागि सरकारको यो ‘स्पीड’ले नपुगेको निष्कर्ष पनि निकालिएको छ । संस्थापनइतर पक्षका नेताहरू भने अब पनि यसैगरी नचल्ने बुझाइमा पुगिसकेका छन् ।

यसबीचमा कम्तीमा ६० प्रतिशत शक्ति आर्जन गरेको निष्कर्ष निकालेर बसेको संस्थापनइतर पक्षका नेताहरूले अब ‘वार कि पार’कै अवस्थामा जाने चेतावनी दिइरहेका छन्। १५औं महाधिवेशन नजिकिँदै गएको र देउवा सभापतिका उम्मेदवार बनाउन नमिल्ने अवस्थामा कोइरालाले सक्रियता बढाएर संस्थापन पक्षका कतिपय नेताहरूलाई तानिसकेको बताइन्छ ।

अहिल्यै गठबन्धन ’ब्रेक’को छलफल र बहसले अरु केही सहयोग नगरे पनि पार्टीको मुख्य समर्थनमा ओली नेतृत्वको सरकारसँग असन्तुष्ट नेताहरू तान्न सकिने बुझाइमा कोइराला छन्। ‘सरकारसँग धेरै साथीहरूको असन्तुष्टि छ। पार्टी नेतृत्वका प्रति पनि कतिपय साथीहरूले प्रश्न नै उठाइरहनुभएको छ,’ संस्थापनइतर पक्षका एक नेताले भने, ‘यस्तो अवस्थामा कतिपय नेताहरूले आफ्नो समूह चिन्नुपर्ने अवस्था पनि छ।

यसले त्यो क्रममा पनि समर्थन गर्न सक्छ। बालकृष्ण खाणलगायतका नेताहरूले समूह परिवर्तन गरिसकेका छन्। पहिले संस्थापन पक्षका नेता खाण अहिले कोइरालाको गुटमा पुगेको कांग्रेस नेताहरू नै बताउँछन्। यस्तो अवस्थामा कोइरालाले ‘फाइदा नै नभए पनि घाटाचाहिँ हुँदैन’भन्ने बुझाइका साथ सक्रियता बढाएको ती नेताको भनाइ छ।